Nidan Media

लमजुङमा कुलो भत्किएर धन्सार पुरिँदा बाबु-छोरीको मृत्यु

लमजुङ। लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेंसीमा कुलो भत्किँदा ढुंगा-माटोले बनेको धन्सार पुरिएर बाबु-छोरीको मृत्यु भएको छ भने श्रीमती र अर्की छोरी घाइते भएका छन्।

मंगलबार बिहान करिब २ः३५ बजे चितिखोलाबाट भाटबेंसीका लागि ल्याइएको कुलो अचानक भत्किँदा स्थानीय विष्णुदत्त सुवेदीको दुईतले कच्ची धन्सार पुरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

धन्सारमा अस्थायी रूपमा बस्दै आएका मर्स्याङ्दी गाउँपालिका-१ नायुका ५९ वर्षीय टिकबहादुर विक र उनकी १५ वर्षीया छोरी बिनिता विक गम्भीर घाइते भएका थिए।

उनीहरूलाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

घटनामा टिकबहादुरकी श्रीमती ५० वर्षीया सुकमाया विक र १६ वर्षीया छोरी अस्मिता विक पनि घाइते भएका छन्।

प्रहरीका अनुसार अस्मिताको अवस्था सामान्य रहेको छ भने सुकमायाको अवस्था मध्यम रहेको र उनीहरूको उपचार पोखरामै भइरहेको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा ११ सदस्यीय टोली घटनास्थल पुगेर उद्धार गरेको थियो। प्रारम्भिक उपचारका लागि उनीहरूलाई चिसंकू स्वास्थ्य चौकी, रामबजार लगिएको थियो।

प्रहरीका अनुसार विक परिवार गत मंसिरदेखि उक्त धन्सारमा बस्दै आएको थियो। उनीहरू घरधनीको कृषि कार्यमा अधियाँ तथा ज्यालादारी मजदुरी गर्दै जीविकोपार्जन गर्दै आएका थिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.