काठमाडौँ। गायक तथा कलाकार अशोक दर्जीले आफूमाथि कुटपिट गर्ने, धम्क्याउने र चरित्रहत्या गर्ने उद्देश्यले भिडियो भाइरल गराएको आरोप लगाउँदै झापाको इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका छन्।
दर्जीले अंकित प्रधानसहित शनिश्चरेका दुई जनाविरुद्ध कानूनी कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन्।
उनका अनुसार करिब एक महिनाअघि ती व्यक्तिहरूले आफूलाई ‘चोर’ भन्दै गालामा थप्पड हानेर कुटपिट गरेका थिए। त्यस क्रममा ‘पैसा कहिले दिने?’ भन्दै भिडियोसमेत खिचिएको थियो।
उजुरीमा उनले उक्त भिडियो पटक-पटक हटाउन आग्रह गर्दा पनि नमानी अहिले सामाजिक सञ्जालमा भाइरल गराएर आफ्नो चरित्रहत्या गर्ने प्रयास गरिएको उल्लेख गरेका छन्।
यस घटनाले आफ्नो प्रतिष्ठा र भविष्यमा गम्भीर असर पुगेको भन्दै संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न उनले प्रहरीसँग माग गरेका छन्।
आइतबार कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अशोक दर्जीका प्रशंसक तथा कलाकारहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।





