म्याग्दी । म्याग्दीमा गएराति परेको अविरल वर्षापछि गएको पहिरोमा परी एक वृद्धको मृत्यु भएको छ भने एक महिलाको सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेतमा पहिरोले घर पुरिँदा सुतिरहेका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको हो।
यस्तै, धवलागिरि गाउँपालिका–७ धारापानीस्थित हाडेभिरमा पहिरोमा पुरिएकी ६३ वर्षीया धनकुमारी थापाको इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पशुचौपाया र भौतिक संरचनामा समेत क्षति पुगेको छ। वर्षासँगै आएको पहिरोले सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्रसँग जोड्ने अधिकांश सडक अवरुद्ध भएका छन्।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक पनि पूर्ण रूपमा बन्द भएको छ।
अवरुद्ध सडकहरू यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित सडक योजना, पूर्वाधार विकास कार्यालय तथा स्थानीय तहले आवश्यक पहल गरिरहेको जिल्ला प्रहरीले जनाएको छ।





