काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सिंहदरबारमा बसेर बनाइने अव्यावहारिक नीतिका कारण देशको यातायात क्षेत्र अस्तव्यस्त बनेको बताएका छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष सिटौलाले सडक तथा पूर्वाधार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर मात्रै यातायात क्षेत्र सुधार गर्न सकिने स्पष्ट पारे।
सरकारले विदेशी मुलुकका सडक नीति र जरिवाना प्रणालीको सिको गरे पनि नेपालको वास्तविक अवस्था र पूर्वाधारलाई बेवास्ता गरेको आरोप लगाए।
उनले नेपालका कर्मचारीतन्त्र र सरकारलाई सम्बोधन गर्दै सिंगापुर, अमेरिका र युरोपका विकसित सडकको उदाहरण देखाएर त्यही नीति र नियम नेपालमा लागू गर्न नहुने तर्क गरे।
सडकको अवस्था, सवारी चाप र पूर्वाधारको क्षमता फरक भएकाले विकसित मुलुकका नीति जस्ताको तस्तै लागू गर्नु व्यावहारिक नहुने उनको भनाइ थियो।
पूर्वाधार व्यवस्थापनका लागि संघीय र स्थानीय सरकारले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले प्रदेश सरकार सार्वजनिक यातायात सुधारमा प्रभावकारी बन्न नसकेको आरोप लगाए।
उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर सार्वजनिक यातायात सुधारमा ठोस काम हुन आवश्यक रहेको स्पष्ट पारे।





