काठमाडौँ । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।
नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै नौ ओटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, कान्ति लोकपथ मा पनि वर्षायामभर साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
पहिरो र सडक बिग्रिएपछि इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।
यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही–थवाङ सहिद राजमार्ग, मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म–गमगडी सडक, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङ ल्हामु सडकखण्ड, अछामको पञ्चदेवल विनायक नगरपालिका–४ पानीखोलास्थित मध्यपहाडी लोकमार्ग तथा लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ म्याग्दे भीरस्थित बेँसीसहर–चामे–मनाङ सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
यसैबीच, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड तामाकोशी नदीको कटानका कारण अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।





