काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी एकदिवसीय शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।
बिहीबार राति भएको खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग नेपाल ६ विकेटले पराजित भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रनमा अलआउट भयो।
आरिफ शेखले सर्वाधिक ४१ रन बनाए भने गुल्शन झाले २९, दीपेन्द्रसिंह ऐरीले २१, आसिफ शेखले १४ र करण केसीले अविजित १३ रन जोडे।
नेदरल्यान्ड्सका रोलफ भान डर मर्वे र एलेक्स रोयले समान ३-३ विकेट लिए।
१५८ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाएर जित हात पार्यो।
कप्तान स्कट एडवार्ड्स अविजित ६१ रन बनाए भने नोआ क्रोस ३४ रनमा अविजित रहे।
नेपालका सोमपाल कामी, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए भने एक विकेट रनआउटमार्फत प्राप्त भयो।
यस जितसँगै नेदरल्यान्ड्स २९ खेलबाट ३४ अंकसहित अंकतालिकामा अघि बढेको छ। नेपालको भने ३० खेलबाट २४ अंक रहेको छ।
नेपालले अब शृङ्खलाको तेस्रो खेल आगामी सोमबार नामिबियाविरुद्ध खेल्नेछ। नेपाल पहिलो खेलमा पनि नामिबियासँग पराजित भएको थियो।



