काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली र राजनीतिक हस्तक्षेपमुक्त बनाउन आवश्यक परे संविधान संशोधन गर्नसमेत पार्टी तयार रहेको बताएका छन्।
४४औँ बीपी स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सभापति थापाले वर्तमान सरकारले संविधानको पालना गरे/नगरेको विषयमा प्रश्न उठाउँदै प्रधानमन्त्रीसमेत संविधानको परिधिभित्र रहनुपर्नेमा जोड दिए।
भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग शक्तिशाली निकाय भए पनि पछिल्लो समय संवैधानिक संस्थाहरू प्रभावकारी हुन नसकेको उनको टिप्पणी छ।
सरकार वा मन्त्रीहरूले बदनियतपूर्वक गर्ने गैरकानुनी कामको छानबिन गर्ने संवैधानिक जिम्मेवारी अख्तियारको भएको उल्लेख गर्दै उनले संस्थाहरूलाई पंगु बनाइनु चिन्ताजनक रहेको बताए।
थापाले अख्तियारको क्षमता अभिवृद्धि र संरचनागत सुधारका लागि नेपाली कांग्रेसले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले राजनीतिक दलको प्रभावबाट मुक्त र स्वायत्त संवैधानिक निकाय निर्माण नै कांग्रेसको मुख्य चाहना रहेको स्पष्ट पारे।





