Nidan Media

इबोला अझै नियन्त्रणबाहिर, कंगोमा झन्डै एक हजारको मृत्यु

काठमाडौँ । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसको संक्रमण अझै नियन्त्रणमा आउन नसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ। संक्रमण नयाँ-नयाँ क्षेत्रमा फैलिँदै गएपछि स्वास्थ्य अधिकारीहरू थप सतर्क बनेका छन्।

डब्ल्यूएचओका इटुरी प्रान्तका घटना व्यवस्थापक थियर्नो बाल्डेका अनुसार दीर्घकालीन अस्थिरता, द्वन्द्व, जनसंख्याको व्यापक आवतजावत र विस्थापनका कारण संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको छ। समुदायमा जनचेतना बढाउँदै संक्रमितको उपचार र निगरानीलाई तीव्र बनाइएको उनले बताए।

डीआर कंगो सरकारका अनुसार आइतबारसम्म दुई हजार ४२३ जनामा इबोला संक्रमण पुष्टि भएको छ। तीमध्ये ९६७ जनाको मृत्यु भइसकेको छ भने ४६९ जना निको भएका छन्। हाल ७३४ जना उपचार तथा निगरानीमा रहेका छन्।

संक्रमणको चपेटामा अग्रपंक्तिमा खटिएका १२१ जना स्वास्थ्यकर्मी पनि परेका छन्। तीमध्ये ३६ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

इटुरी प्रान्तको अड्जा स्वास्थ्य क्षेत्रमा समेत संक्रमण पुष्टि भएसँगै पाँच प्रान्तका ४७ स्वास्थ्य क्षेत्रमा इबोला फैलिएको छ। तीमध्ये ४६ क्षेत्रमा अझै सक्रिय संक्रमण रहेको डब्ल्यूएचओले जनाएको छ।

गत मे १५ मा घोषणा गरिएको यो प्रकोपको केन्द्र इटुरी प्रान्त नै हो। कुल संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी र मृत्युका करिब ८० प्रतिशत घटना यही प्रान्तमा केन्द्रित छन्।

डब्ल्यूएचओका अनुसार अनौपचारिक खानी गतिविधि, सुरक्षा चुनौती तथा युगान्डा र दक्षिण सुडानसँगको सीमापार आवागमनले संक्रमण नियन्त्रणमा थप कठिनाइ उत्पन्न गरेको छ। सीमापार संक्रमण रोक्न डीआर कंगो र युगान्डाले कासेनी सीमा क्षेत्रमा सञ्चालन गरिएको मोबाइल प्रयोगशालाको संयुक्त प्राविधिक मूल्यांकनसमेत गरेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.