Nidan Media

आज पनि धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशभर मौसम बदली भएको छ।

विभागका अनुसार अहिले देशका अधिकांश भूभागमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ। आज दिउँसो हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ भने पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने रातिको समयमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

विभागले भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई बाढी, पहिरो, डुबान तथा नदी-खोलामा पानीको सतह बढ्न सक्ने जोखिमप्रति सचेत रहन तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.