Nidan Media

आजको मौसम : यी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा औसत स्थानभन्दा केही माथि तथा पूर्वी क्षेत्रमा औसत स्थान आसपास रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका अधिकांश तथा तराईका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।

विशेषगरी कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति पनि देशभर बदली रहनेछ। कोशी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्र र तराईका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

रातिको समयमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी र सुदूरपश्चिमका केही स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

भारी वर्षाका कारण नदी–नाला, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले यात्रा तथा दैनिक गतिविधिमा विशेष सावधानी अपनाउन पनि विभागले अनुरोध गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.