सुर्खेत। कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्।
मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएका हुन्।
मुख्यमन्त्री कँडेलले बुधबार मन्त्रिपरिषद् बैठक बोलाएका थिए। तर बैठकमा सहभागी हुनुको सट्टा कांग्रेसका मन्त्रीहरू सिधै मुख्यमन्त्रीसमक्ष पुगेर राजीनामा बुझाएका थिए।
मन्त्रीहरूको राजीनामाको औपचारिक कारण सार्वजनिक गरिएको छैन। यद्यपि सरकार सञ्चालनका क्रममा देखिएको मतभेदका कारण कांग्रेस सरकारबाट बाहिरिएको बताइएको छ।
२०८१ साल साउनदेखि एमाले-कांग्रेसको संयुक्त सरकारमा सहभागी कांग्रेसका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा तथा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले पदबाट राजीनामा दिएका हुन्।
कांग्रेसका चार मन्त्रीको बहिर्गमनसँगै कर्णाली प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिएको छ। अब प्रदेशमा नयाँ राजनीतिक समीकरण र सरकार गठनबारे छलफल तीव्र हुने अपेक्षा गरिएको छ।




