Nidan Media

आज विश्व युवा दक्षता दिवस मनाइँदै

काठमाडौँ। युवाहरूको सामाजिक-आर्थिक अवस्था सुदृढ गर्दै सीप, रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ आज विश्व युवा दक्षता दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ को डिसेम्बरमा जुलाई १५ लाई विश्व युवा दक्षता दिवसका रूपमा घोषणा गरेपछि सन् २०१५ देखि यो दिवस मनाउन थालिएको हो।

विश्वभर बढ्दो बेरोजगारी, योग्यताअनुसार रोजगारी नपाउने समस्या र भविष्यको श्रम बजारका लागि आवश्यक सीप विकासलाई प्राथमिकतामा राख्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक तथा कृषि, उत्पादन र श्रम क्षेत्रमा युवाको महत्वपूर्ण भूमिका रहे पनि अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीमा ठूलो सङ्ख्यामा युवा सहर केन्द्रित हुने र विदेश पलायन हुने क्रम बढ्दो छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवा कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत छन्।

जनसङ्ख्याको झण्डै आधा हिस्सा ओगटेका युवाको सीप विकास, गुणस्तरीय रोजगारी र उद्यमशीलतामा पर्याप्त लगानी तथा अवसर सिर्जना गर्नुपर्ने आवश्यकता सरोकारवालाले औँल्याउँदै आएका छन्।

यस दिवसले युवालाई प्राविधिक, व्यावसायिक र डिजिटल सीपमार्फत सक्षम बनाई आर्थिक विकास र दिगो समृद्धिमा योगदान पुर्याउने वातावरण निर्माण गर्न सबै पक्षलाई प्रतिबद्ध बन्न आह्वान गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.