Nidan Media

भोलिदेखि नेपालमा भारी वर्षाको सम्भावना, पहिरो र बाढीको जोखिम

काठमाडौँ । नेपालमा मनसुन सक्रिय रहँदा आज पनि देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान मोडेलहरूले भने भोलिदेखि आइतबारसम्म पश्चिम नेपालका केही जिल्लामा भारी वर्षा हुन सक्ने संकेत गरेका छन्।

यसले पहिरो, बाढी र डुबानको जोखिम बढाउने भएकाले सम्बन्धित निकाय र स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना देखाए पनि वर्षा हुने स्थान र मात्रा भने यकिन गर्न सकिँदैन।

उनले केही क्षेत्रमा अनुमानभन्दा धेरै र केही क्षेत्रमा कम वर्षा हुन सक्ने भएकाले पूर्वानुमानलाई जोखिम व्यवस्थापनको आधारका रूपमा लिनुपर्ने बताएका छन्।

आगामी केही दिन विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा पहिरो जाने, साना तथा ठूला नदी-खोलामा पानीको बहाव एकाएक बढ्ने र सडक सञ्जाल प्रभावित हुने जोखिम रहेको मौसमविद्हरूको भनाइ छ।

वर्षायाममा यस्ता प्राकृतिक विपद्का घटना दोहोरिरहने भएकाले स्थानीय तह, सुरक्षा निकाय र विपद् व्यवस्थापन संयन्त्रलाई पूर्वतयारी अवस्थामा रहनुपर्ने आवश्यकता देखिएको छ।

यसैबीच, पूर्वी नेपालको तराई क्षेत्रमा अपेक्षाअनुसार वर्षा हुन नसकेको मौसमविद्हरूले बताएका छन्। वर्षा गराउने बादल बने पनि त्यसलाई माथितर्फ उकास्ने प्रणाली कमजोर रहेकाले समथर भूभागमा पर्याप्त वर्षा हुन नसकेको हो।

यसको विपरीत पहाडी भूभागले बादललाई माथि उठाउन सहयोग गर्ने भएकाले त्यहाँ तुलनात्मक रूपमा बढी वर्षा भइरहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.