काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत सञ्चालन गरिएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डका अनुसार असार १ देखि ९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षामा आवेदन दिएका १ लाख ४८ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २९ हजार १९४ जना परीक्षामा सहभागी भएका थिए। तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्।
परीक्षाफल बोर्डले तोकेका २० वटा संस्थाका वेबसाइट, आइभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ।
बोर्डका अनुसार नतिजामा चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म पुनर्योग (रिटोटलिङ) का लागि आवेदन दिन सक्नेछन्।
साथै, नतिजा प्रकाशनका क्रममा कुनै प्राविधिक त्रुटि वा अन्य समस्या देखिए आवश्यक परीक्षण तथा छानबिनपछि सच्याइने व्यवस्था गरिएको बोर्डले जनाएको छ।





