काठमाडौँ । नर्वे फिफा विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बुधबार बिहान अमेरिकाको डालासस्थित रंगशालामा सम्पन्न अन्तिम ३२ को खेलमा आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै नर्वेले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।
नर्वेलाई जित दिलाउन एन्टोनियो नुसा र एर्लिङ हालान्डले समान १-१ गोल गरे भने आइभरी कोस्टका लागि अमाद डियाल्लोले एक गोल फर्काए।
खेलको ३९औँ मिनेटमा नुसाले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ७४औँ मिनेटमा अमाद डियाल्लोले गोल गर्दै आइभरी कोस्टलाई १-१ को बराबरीमा ल्याए।
खेल बराबरीतर्फ उन्मुख भइरहेका बेला ८६औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले निर्णायक गोल गर्दै नर्वेलाई २-१ को जित दिलाए। त्यसपछि बाँकी समयमा थप गोल नभएपछि नर्वे प्रिक्वार्टरफाइनलमा पुग्न सफल भयो।
अब नर्वेले प्रिक्वार्टरफाइनलमा पाँच पटकको विश्व विजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। ब्राजिलले अन्तिम ३२ को खेलमा जापानलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो।





