काठमाडौँ । नेपालभर मनसुनी वायु सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। अन्य क्षेत्रहरूमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसोपछि मनसुनी गतिविधि थप सक्रिय हुने अनुमान गरिएको छ। यसको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको छ।
लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, भूक्षय तथा सडक अवरुद्ध हुने जोखिम बढेको छ भने तराई र सहरी क्षेत्रमा डुबानको सम्भावना रहेको विभागले जनाएको छ।
साथै साना तथा ठूला नदी, खोल्सा र खोलाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद्हरूले आवश्यकबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, मौसमको पछिल्लो जानकारी नियमित रूपमा लिन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।





