Nidan Media

अष्ट्रिया र अल्जेरिया अन्तिम ३२ मा, अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका अन्तिम खेलपछि अष्ट्रिया र अल्जेरियाले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। रोमाञ्चक खेलमा दुवै टोलीले ३-३ गोलको बराबरी खेलेपछि अन्तिम ३२ मा पुग्न सफल भएका हुन्।

खेलको २८औँ मिनेटमा मार्को अर्नाउटोभिचले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयअघि ४५औँ मिनेटमा रफिक बेल्घालीले गोल फर्काउँदै अल्जेरियालाई १-१ को बराबरीमा पुर्‍याए।

दोस्रो हाफको ५५औँ मिनेटमा मार्सेल साबिट्जरले गोल गर्दै अष्ट्रियालाई पुनः २-१ को अग्रता दिलाए। तर त्यसको पाँच मिनेटपछि ६०औँ मिनेटमा रियाद महरेजले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै अल्जेरियालाई ३-२ को अग्रता दिलाए।

तर खेल सकिन केही क्षण बाँकी रहँदा इन्जुरी समयको छैटौँ मिनेटमा सासा कालाज्जिकले बराबरी गोल गर्दै अष्ट्रियालाई हारबाट जोगाए।

यो बराबरीसँगै दुवै टोलीले समान ४-४ अंक जोड्दा गोलअन्तरका आधारमा अष्ट्रिया समूह उपविजेता बन्यो। अल्जेरिया भने समूह ‘जे’को तेस्रो स्थानमा रहँदै उत्कृष्ट तेस्रो टोलीका रूपमा अन्तिम ३२ मा प्रवेश गर्न सफल भयो।

अब नकआउट चरणमा अष्ट्रियाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने अल्जेरियाले स्वीटजरल्यान्डको सामना गर्नेछ।

यता अर्जेन्टिनाले समूह चरणमा लगातार तेस्रो जित निकाल्दै शतप्रतिशत नतिजासहित समूह विजेताका रूपमा अन्तिम ३२ मा स्थान बनाएको छ। समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३-१ ले पराजित गर्‍यो।

अर्जेन्टिनाको जितमा जिओभानी लो सेल्सो, लाउटारो मार्टिनेज र कप्तान लियोनल मेस्सीले १-१ गोल गरे। जोर्डनका मौसा अल-तमारीले सान्त्वना गोल फर्काएका थिए।

योसँगै मेस्सीले विश्वकप इतिहासमा आफ्नो गोल संख्या १९ पुर्‍याएका छन्। जारी विश्वकपमा उनले तीनवटै समूह चरणका खेलमा गोल गर्दै कुल ६ गोल गरेका छन्, जसमा एक खेलमा गरेको ह्याट्रिक पनि समावेश छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.