Nidan Media

गण्डकीमा १२.७ प्रतिशतमात्रै धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा किसान चिन्तित

पोखरा । अपेक्षाअनुसार वर्षा नहुँदा गण्डकी प्रदेशमा यस वर्ष धान रोपाइँको गति सुस्त देखिएको छ। कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म गण्डकी प्रदेशमा १२.७ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ।

देशभर औसत धान रोपाइँ ११.३३ प्रतिशत पुगेको भए पनि गण्डकीमा रोपाइँ अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। पर्याप्त पानी नपर्दा खेतमा आवश्यक चिस्यानको अभाव भएपछि किसानले रोपाइँलाई तीव्रता दिन नसकेको कृषि क्षेत्रका जानकारहरू बताउँछन्।

प्रदेशगत रूपमा कर्णालीमा सबैभन्दा बढी २२.८ प्रतिशत र लुम्बिनीमा २०.९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। गण्डकी १२.७ प्रतिशतसहित तेस्रो स्थानमा रहेको छ। त्यसपछि बागमतीमा १२.६ प्रतिशत, सुदूरपश्चिममा ९.३ प्रतिशत, कोशीमा ८.३ प्रतिशत र मधसमा ५ प्रतिशत रोपाइँ भएको छ।

गत वर्ष यही अवधिमा गण्डकीमा १३.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष भने रोपाइँको गति केही सुस्त देखिएको कृषि विभागको तथ्यांकले देखाउँछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलिमिटर वर्षा भएको छ, जुन यस अवधिको औसत वर्षाको ६९.६ प्रतिशत मात्रै हो। औसतभन्दा कम वर्षा भएकाले गण्डकीसहित अधिकांश प्रदेशमा धान रोपाइँ प्रभावित भएको छ।

कृषि विज्ञहरूले आगामी दिनमा पर्याप्त वर्षा भए गण्डकीमा पनि रोपाइँले गति लिने अपेक्षा गरेका छन्। समयमै रोपाइँ सम्पन्न हुन नसके धान उत्पादनमा असर पर्न सक्ने उनीहरूको भनाइ छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.