Nidan Media

आज निर्जला एकादशी: यस्तो छ व्रत विधि र रोचक कथा

काठमाडौँ। आज हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक निर्जला एकादशी व्रत मनाउँदै छन्। वर्षभर पर्ने २४ ओटा एकादशीमध्ये निर्जला एकादशीलाई सबैभन्दा पुण्यदायी र महत्त्वपूर्ण एकादशीका रूपमा मान्ने गरिन्छ ।

यस दिन भगवान् विष्णुको विशेष पूजा-आराधना गरिनुका साथै व्रतालुले अन्न र जलसमेत त्याग गरी व्रत बस्ने परम्परा छ।

धार्मिक मान्यताअनुसार निर्जला एकादशीको व्रत गरेमा वर्षभरका सबै एकादशी व्रतको पुण्य प्राप्त हुने विश्वास गरिन्छ।

निर्जला एकादशीमा भगवान् विष्णुलाई तुलसीको दल (पात) अर्पण गर्ने विशेष महत्व रहेको छ। विष्णुप्रिय तुलसीलाई शुद्धता, भक्ति र मंगलको प्रतीक मानिन्छ ।

यस दिन तुलसीको दल अर्पण गरी विष्णुको पूजा गर्दा मनोकामना पूरा हुने तथा पुण्य लाभ प्राप्त हुने धार्मिक विश्वास छ।

मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ भने घरघरमा पनि विष्णु पूजा, तुलसी पूजा, दान-पुण्य तथा धार्मिक अनुष्ठान गरिँदै छन्।

धार्मिक ग्रन्थहरूमा निर्जला एकादशीलाई पाप नाश गर्ने, मोक्ष प्रदान गर्ने र आध्यात्मिक उन्नतिको मार्ग प्रशस्त गर्ने पर्वका रूपमा वर्णन गरिएको छ।

निर्जला एकादशीको व्रत एकदमै संयम साध्य हो । यस युगमा यो व्रत सम्पूर्ण सुख भोग र अन्तमा मोक्ष भनिएको छ। कृष्णपक्ष र शुक्लपक्ष दुबै पक्षको एकादशीमा अन्नमात्र होइन पानी सेवन गर्नु समेत बर्जित छ । त्यसैले त यसलाई निर्जला एकादशी भनिएको हो ।

व्रत विधि

इच्छुक पुरुष वा महिला जो कोहीले यो व्रत लिन सक्छन् । शारीरिक समस्या भएकाहरू वा औषधि सेवन गरिरहेका, रोगी, सुत्केरी, गर्भवती वा बूढाबूढीबाहेकले निर्जला एकादशी व्रत बस्नु उपयुक्त हुन्छ। व्रत अवधिभर अन्न वा पानी सेवन गर्नुहुँदैन।

बिहानै नुहाई-धुवाई गरेपछि शुद्ध भएर व्रत शुरू गर्नुपर्छ। व्रतमा पूजाआजा खासगरी भगवान विष्णुको आरधाना गर्ने धार्मिक प्रचलन छ।

जलपान निषेध भए पनि फलहार र दूध सेवन गर्न भने सकिन्छ । यस दिन पूजाआजा गर्दै दान दिएमा लाभ मिल्ने धार्मिक विश्वास छ ।

रोचक व्रत कथा

निर्जला एकादशी व्रतको पौराणिक महत्व र व्याख्या पनि कम रोचक छैन । जब सर्वज्ञ वेदव्यासले पान्डवका चार पुरुषार्थः धर्म, अर्थ, काम र मोक्ष दिने एकादशी व्रतको संकल्प गराएका थिए । युधिष्ठिरले भने, ‘जनार्दन ज्येष्ठ मासको शुक्लपक्षमा जुन एकादशी पर्छ, कृपाय त्यसको वर्णन गर्नुहोस् ।’

भगवान श्रीकृष्णले भने, ‘हे राजन यसको वर्णन परम धर्मात्मा सत्यवती नन्दन व्यासजीले गर्नुहुन्छ। किनभने यी सम्पूर्ण शास्को तत्वज्ञान र वेद वेदांगमा पारंगत विद्वान उनै हुन् ।’

तब व्यासजीले भने, ‘कृष्णपक्ष र शुक्लपक्ष दुबै पक्षको एकादशीमा अन्न बर्जित छ। द्वादशीको दिन स्नान गरेर पवित्र भइसकेपछि फूलले भगवान केशवको पूजा गर्नुपर्छ। फेरी नित्य कर्म समाप्त गरेपछि ब्राम्हाणलाई भोजन गराई अन्तमा स्वयंले भोजन ग्रहण गर्नुपर्छ ।’

यो कुरा सुनेपछि भीमसेन बोले, ‘परम बुद्धिमान पितामह, मेरो उत्तम कुरा सुन्नुहोस् । राजा युधिष्ठिर, माता कुन्ती, द्रौपदी, अर्जुन, नकुल र सहदेव, यी कसैले पनि एकादशीको कहिल्यै भोजन गर्दैनन्। साथै मलाई पनि उनीहरूले भोजन नगर्नका लागि अनुरोध गर्छन् । तर, म भोक सहनै सक्दिन ।’

भीमसेनको कुरा सुनेर व्यासजीले भन्छन्, ‘यदि तिमीले नरकलाई दूषित सम्झन्छौँ र स्वर्गलोकको प्राप्तिको अभिष्ट राख्छौँ भने दुबै पक्षको एकादशीको दिन भोजन गर्नु उचित हुँदैन ।’

भीमसेनले भने, ‘महाबुद्धिमान पितामह, म तपाईंको सामुन्ने सत्य भन्छु । म त एक पटक भोजन गरेर पनि व्रत गर्न सक्दिन । तब उपवास गरेर म कसरी रहन सक्छु ? मेरो पेटमा वृक नामका अग्नी सधैँ प्रज्वलित रहन्छ । जब म धेरै खान्छु, तब मात्र यो शान्त रहन्छ। त्यसैले महामुनि, म पूरा वर्षभर केवल एकमात्र उपवास गर्न सक्छु । यस्तो कुन व्रत हुन सक्छ ? जसले कल्याण हुन्छ । म उक्त व्रतको यथोचित रुपमा पालना गर्छु ।’

व्यासजी भन्छन्, ‘भीम, ज्येष्ठ मासमा सूर्य वृष राशिमा होस् वा मिथुन राशिमा, शुक्लपक्षमा जुन एकादशी हुन्छ, त्यसमा यत्नपूर्वक निर्जल व्रत गर । केवल कुल्ला वा अचमन गर्नका लागि मुखमा पानी हाल्न सक्छौँ । त्यसबाहेक कुनै पनि प्रकारको जल मुखमा हाल्न उचित हुँदैन । अन्यथा व्रत भंग मानिन्छ ।’

एकादशीको सूर्योदयदेखि लिएर अर्को दिनको सूर्योदयसम्म मानिसले जल त्याग गर्नुपर्छ । त्यस अनुसार द्वादशीको प्रभातकालमा स्नान गरेर ब्राम्हाणलाई विधिपूर्वक जल वा सुवर्ण दान गर्नुपर्छ । यस प्रकार सबै कार्य पूरा गरेर जितेन्द्रिय पुरुष ब्राम्हाणका साथ भोजन गर्न सक्छन्।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.