काठमाडौँ। प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले रास्वपाको यात्रा अब स्थानीय सडकमा नभई ‘एक्सप्रेस वे’मा अघि बढिरहेको भन्दै गन्तव्यमा नपुग्दासम्म अभियान नरोकिने बताएका छन् ।
आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी र सरकारबारे विभिन्न अतिथिहरूले व्यक्त गरेका सुझाव तथा चिन्ताप्रति धन्यवाद व्यक्त गरे ।
सरकारलाई गाडीसँग तुलना गर्दै शाहले सरकारको यात्रा सही दिशामा रहेको दाबी गरे । उनले स्थानीय सडकमा जस्तो बारम्बार अवरोध र अन्योलको अवस्था नभएको उल्लेख गर्दै सरकार र पार्टी आफ्नो लक्ष्यतर्फ दृढतापूर्वक अघि बढिरहेको बताए ।
उनले भने, “सरकार भनेको गाडीजस्तै हो । गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ । ब्रेक लगाउनुपर्छ भन्ने चिन्ता स्वाभाविक हो । स्थानीय सडकमा हिँड्दा दायाँ–बायाँबाट धेरै चिन्ता आउँछन् । तर हाम्रो गाडी लोकल रोडमा हिँडेको होइन, एक्सप्रेस वेमा हिँडेको गाडी हो । गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ ।”
शाहले रास्वपाको यात्रा अनियन्त्रित नभएको स्पष्ट पार्दै पार्टी र सरकारप्रति व्यक्त गरिएका चासो तथा सुझावलाई सकारात्मक रूपमा लिएको बताए ।
जनमत अस्थिर हुने र समयअनुसार परिवर्तन हुने टिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले रास्वपाले क्षणिक लहर नभई राजनीतिक धार परिवर्तन गरेको दाबी गरे ।
उनले भने, “जनताको भोट हावा जस्तो हुन्छ, कहिले यताबाट त कहिले उताबाट चल्छ भनेर चिन्ता व्यक्त गरिएको छ । तर हामीले कुनै हावा उडाएका छैनौँ । हामीले बाढी ल्याएर खोला फर्काएका हौँ । त्यसैले त्यो आफ्नै बाटोमा निरन्तर बगिरहन्छ ।”
शाहले रास्वपाले स्थापित राजनीतिक प्रवृत्तिमा परिवर्तन ल्याउँदै नयाँ राजनीतिक धार निर्माण गरेको दाबी गर्दै जनताले दिएको विश्वासलाई सुशासन, विकास र परिणाममार्फत अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।





