Nidan Media

विश्वकपमा जापानको दबदबा, जर्मनी नकआउटमा, पाराग्वेको पुनरागमन

काठमाडौँ । फिफा विश्वकप २०२६ मा जापान, जर्मनी, नेदरल्याण्ड्स र पाराग्वेले महत्वपूर्ण नतिजा निकाल्दै आफ्नो अभियानलाई बलियो बनाएका छन्। समूह चरणका पछिल्ला खेलहरूले केही टोलीलाई नकआउट चरणको ढोकासम्म पुर्‍याएको छ भने केही टोलीको भविष्य संकटमा परेको छ।

समूह एफमा जापानले ट्युनिसियामाथि ४-० को एकतर्फी जित निकाल्दै आफ्नो शक्ति प्रदर्शन गरेको छ। मोन्टेरे रंगशालामा भएको खेलमा आयासे उएडाले दुई गोल गरे भने दाइची कामादा र जुन्या इतोले १-१ गोल थपे।

खेलको चौथो मिनेटमै अग्रता बनाएको जापानले ट्युनिसियालाई कुनै अवसर नदिई सहज जित निकालेको हो।

नेदरल्याण्ड्ससँग पहिलो खेलमा २-२ को बराबरी खेलेको जापानले यो जितसँगै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ। लगातार दोस्रो हार बेहोरेको ट्युनिसिया भने प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ।

यसै समूहको अर्को खेलमा नेदरल्याण्ड्सले स्वीडेनलाई ५-१ ले पराजित गर्दै समूहको शीर्ष स्थानमा आफ्नो दाबी अझ बलियो बनाएको छ।

ब्रायन ब्रोब्बे र कोडी गाक्पोले समान २-२ गोल गर्दा क्रिसेन्सिओ सुम्मरभिल्लेले एक गोल थपे। यो नतिजासँगै नेदरल्याण्ड्स दुई खेलबाट चार अंकसहित शीर्ष स्थानमा पुगेको छ।

जापान पनि चार अंकमै पुगेकाले समूह विजेताको टुंगो अन्तिम खेलबाट लाग्ने सम्भावना देखिएको छ।

समूह ईमा जर्मनीले संघर्षपूर्ण खेलमा आइभरी कोष्टलाई २-१ ले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ। सुरुआतमा पछि परेको जर्मनीलाई डेनिज उन्दाभले पुनरागमन गराए।

उनले बराबरी र निर्णायक दुवै गोल गर्दै टोलीलाई अन्तिम ३२ मा पुर्‍याए। दुई खेलबाट ६ अंक जोडेको जर्मनी नकआउट चरणमा पुग्ने पहिलो टोलीहरूमध्ये एक बनेको छ भने आइभरी कोष्ट तीन अंकसहित दोस्रो स्थानमा छ।

त्यही समूहमा इक्वेडर र विश्वकपमा पहिलो पटक सहभागी कुरासाओले गोलरहित बराबरी खेल्दै अंक बाँडे। कान्सास सिटीमा भएको खेलमा इक्वेडरले अधिकांश समय दबाब बनाए पनि कुरासाओका गोलरक्षक एलोई रुम चट्टानझैँ उभिए। उनले १५ महत्वपूर्ण बचाउ गर्दै टोलीलाई ऐतिहासिक अंक दिलाए।

विश्वकप डेब्युमा पहिलो अंक जोड्नु कुरासाओका लागि ठूलो उपलब्धि बनेको छ। यद्यपि जर्मनी र आइभरी कोष्टको तुलनामा दुवै टोलीको नकआउट यात्रा कठिन बनेको छ।

समूह डीमा पाराग्वेले टर्किएलाई १-० ले पराजित गर्दै आफ्नो विश्वकप अभियान जोगाएको छ। खेल सुरु भएको ६४ सेकेन्डमै माटियास गालार्साले गोल गर्दै प्रतियोगिताकै सबैभन्दा छिटो गोलमध्ये एक दर्ता गरे।

पहिलो हाफको इन्जुरी समयमा मिगुएल अल्मिरोन रातो कार्ड खाँदै बाहिरिए पनि १० खेलाडीमा सीमित पाराग्वेले अनुशासित रक्षात्मक प्रदर्शन गर्दै जित सुरक्षित राख्यो। लगातार दोस्रो हार बेहोरेको टर्किए भने एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

विश्वकप समूह चरण अब निर्णायक मोडमा पुगेको छ। जर्मनीले नकआउट यात्रा सुनिश्चित गरिसकेको छ भने जापान, नेदरल्याण्ड्स, आइभरी कोष्ट र पाराग्वेले महत्वपूर्ण कदम चालेका छन्।

अर्कोतर्फ ट्युनिसिया, टर्किए तथा अन्य दबाबमा रहेका टोलीका लागि अब प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा पुगेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.