काठमाडौँ । मध्यपूर्वमा तनाव घटाउने अपेक्षासहित विश्वले प्रतीक्षा गरिरहेको अमेरिका-इरान शान्ति सम्झौता अन्तिम क्षणमा स्थगित भएको छ। स्वीट्जरल्यान्डमा आज हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौता समारोह अनिश्चितकालका लागि रोकिएपछि अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार समारोहमा सहभागी हुन कुनै पनि उच्चस्तरीय अमेरिकी वा इरानी अधिकारी स्वीट्जरल्यान्ड नजाने निर्णय भएपछि औपचारिक हस्ताक्षर प्रक्रिया रोकिएको हो। कूटनीतिक स्रोतहरूले अब प्रक्रिया प्रत्यक्ष सम्झौताबाट हटेर प्राविधिक तथा जटिल विषयमा केन्द्रित लामो चरणको वार्तातर्फ मोडिएको बताएका छन्।
हाल अमेरिका, इरान, कतार र पाकिस्तानका अग्रिम कूटनीतिक टोलीहरू स्वीट्जरल्यान्डका विभिन्न शहरमा बसेर वार्ताको नयाँ ढाँचा तयार पारिरहेका छन्। स्रोतहरूका अनुसार सम्झौताका बाँकी रहेका संवेदनशील र प्राविधिक विषयमा सहमति जुटाउन आगामी ६० दिनसम्म चरणबद्ध छलफल सञ्चालन गरिनेछ।
विश्व शान्ति र क्षेत्रीय स्थायित्वका लागि महत्वपूर्ण मानिएको यो सम्झौतामा आएको अप्रत्याशित मोडले कूटनीतिक गतिविधिमा मात्र होइन, पाकिस्तानको सरकारी भ्रमण तालिकामा समेत प्रत्यक्ष असर पारेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले समेत आफ्नो स्वीट्जरल्यान्ड भ्रमण रद्द गरेका छन्।
औपचारिक हस्ताक्षर रोकिए पनि वार्ता प्रक्रिया पूर्ण रूपमा विफल नभएको बताइएको छ। तर अन्तिम क्षणमा भएको यो स्थगनले अमेरिका–इरान सम्बन्धमा अझै गहिरा मतभेद बाँकी रहेको संकेत दिएको छ। अब आगामी दुई महिनाको प्राविधिक वार्ताले शान्ति सम्झौताको भविष्य निर्धारण गर्नेछ।





