काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि उनले विगतका अनुभवका आधारमा यसपटक विपद् व्यवस्थापनका लागि प्रभावकारी तयारी गरिएको बताएका छन्।
उनले विपद्को समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिइएको र विभिन्न टोलीहरू परिचालन भइसकेको जानकारी दिएका छन्। आवश्यक परे हेलिकप्टरसहितका स्रोतसाधन समेत तत्काल परिचालन गर्ने योजना रहेको उनले स्पष्ट पारेका छन्।
मन्त्री गुरुङले यसपटक मन्त्रीहरूको निरीक्षणभन्दा पनि जनताको सुरक्षा र उद्धारलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै सरकार पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताएका छन्।
त्यस्तै, उनले गृह मन्त्रालयलाई प्रत्येक नागरिक, विशेषगरी महिलाहरूका लागि भरोसायोग्य संस्थाका रूपमा विकास गर्न चाहेको बताएका छन्। गृह मन्त्रालयलाई ‘हरेक चेलीका लागि माइती’ जस्तो संस्थाका रूपमा हेर्नुपर्ने उनको भनाइ छ।
कानून कार्यान्वयनमा कुनै राजनीतिक पक्षपात नहुने स्पष्ट पार्दै उनले गलत कार्य गर्ने जोकोहीलाई कानूनी दायरामा ल्याइने बताएका छन्। साथै सुरक्षा निकायका अधिकारीहरूको कार्यसम्पादनको आधारमा मूल्यांकन, जिम्मेवारी र बढुवा प्रणाली अघि बढाइने पनि उनले जानकारी दिएका छन्।
मन्त्री गुरुङले विगतमा राजनीतिक दबाब र पहुँचका आधारमा हुने बढुवालाई अन्त्य गर्दै अब पूर्ण रूपमा कार्यसम्पादन, इमान्दारिता र क्षमताका आधारमा पदोन्नति गरिने नीति लागू गरिने बताएका छन्।





