सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ असार २ गते मंगलबार, इस्वीसंवत जुन १५ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार शुद्धज्येष्ठशुक्लपक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्धज्येष्ठशुक्लपक्षको प्रतिपदा तिथि बिहानमा ६ः४३ बजेसम्म त्यसपछि द्धितीया तिथि लाग्नेछ। नक्षत्रमा आद्रा साँझमा ७ः२९ बजेसम्म त्यसपछि पुनवर्सु नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा शूल १३ घटि ३७ पलासम्म त्यसपछि गण्ड योग लाग्नेछ। करणमा बालब अहोरात्र रहनेछ । आनन्दादि योगमा चर रहनेछ।
सूर्य मिथुन राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३५ पला अर्थात १३ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः१० बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ७ः०० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा ५ः५८ बजे र अस्ताउने समय साँझ ८ः३७ बजे रहेको छ । आज अन्तर्राष्टिय परिवार रेमिट्यान्स दिवस रहेको छ ।
आजको राशिफल
मेषः आज दिन सुखद् र उपलब्धिमूलक रहनेछ। मिथुन राशिको चन्द्रमाको प्रभावले स्वास्थ्य राम्रो रहने भएकाले मनमा उत्साह बढ्नेछ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ भने दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ। आर्थिक अवस्था बलियो बन्ने संकेत देखिन्छ र व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ। लामो दूरीको यात्रा वा घुमफिरको अवसर मिल्न सक्छ, जसले मनलाई ताजगी दिनेछ। विलासी सामान र आकर्षक व्यवहारका कारण अरूको ध्यान आफूतर्फ खिच्न सकिनेछ। परिवारभित्र सहयोगको वातावरण बन्ने भएकाले मनमा सन्तुष्टि र आत्मविश्वास बढ्नेछ।
वृषः आज समय केही चुनौतीपूर्ण रहनेछ। साना काममा अल्झिँदा महत्वपूर्ण जिम्मेवारी अधुरै रहन सक्छन्, त्यसैले समय व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक हुनेछ। मिथुन राशिको चन्द्रमाको प्रभावले यात्रा गर्दा वा सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेछ। प्रेम सम्बन्धमा दूरी बढ्ने सम्भावना देखिएकाले धैर्य र समझदारी आवश्यक रहनेछ। स्वास्थ्यमा कमजोरी आउन सक्ने भएकाले आराम र खानपानमा ध्यान दिनु राम्रो हुनेछ। कामको क्षेत्रमा भने जिम्मेवारी बढ्नेछ र तपाईंले धैर्यपूर्वक त्यसलाई सम्हाल्ने क्षमता देखाउन आवश्यक छ।
मिथुनः आजको दिन प्रगतिशील र सकारात्मक रहनेछ। आफ्नै राशिको चन्द्रमाको प्रभावले अध्ययन तथा बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुने भएकाले मन प्रसन्न रहनेछ। दाजुभाइ वा अग्रजहरूको सुझावलाई आत्मसात् गर्दा सफलता प्राप्त गर्न सहज हुनेछ। नयाँ कामको सुरुवातबाट आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना छ। व्यवसाय तथा आर्थिक गतिविधिमा राम्रो अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूसँग राम्रो सहकार्य हुने भएकाले काम सहज रूपमा अगाडि बढ्नेछ। आत्मविश्वास र सकारात्मक सोचले दिनलाई थप सफल बनाउनेछ।
कर्कटः आज समय मिश्रित रहनेछ। स्वास्थ्यमा कमजोरी आउन सक्ने भएकाले शरीरको विशेष ख्याल राख्नु आवश्यक हुनेछ। मिथुन राशिको चन्द्रमाको प्रभावले विवादित विषय वा अनावश्यक बहसबाट टाढा रहनु नै बुद्धिमानी हुनेछ। आर्थिक क्षेत्रमा अपेक्षाअनुसार आम्दानी नहुँदा केही तनाव बढ्न सक्छ। पढाइ तथा बौद्धिक काममा मन केन्द्रित गर्न कठिन हुन सक्छ। यद्यपि परिवारसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ। कामकाजमा आएका चुनौतीलाई धैर्यपूर्वक सामना गर्नुभयो भने विस्तारै परिस्थिति सुधार हुँदै जाने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ।
सिंहः आज समय निकै शुभ र सफलतामूलक रहनेछ। मिथुन राशिको चन्द्रमाको प्रभावले व्यापार व्यवसायमा राम्रो अवसर प्राप्त हुनेछ र आर्थिक अवस्था मजबुत बन्नेछ। आफन्त तथा सन्तानबाट विशेष सहयोग प्राप्त हुने सम्भावना छ। बौद्धिक क्षमता र नयाँ सोचका कारण समाजमा मानसम्मान बढ्नेछ। प्रेम सम्बन्धमा सफलता र आत्मीयता बढ्नेछ। पढाइ वा कामको सिलसिलामा यात्रा गर्ने अवसर पनि मिल्न सक्छ। बिहानको समयमा सवारी प्रयोग गर्दा सावधानी अपनाउनु आवश्यक हुनेछ। परिवारसँगको खुला संवादले सम्बन्ध अझ मधुर बन्ने ग्रहगोचर छ।
कन्याः आज समय निकै शुभ रहनेछ। विगतमा गरेको मेहनतको राम्रो प्रतिफल प्राप्त हुने सम्भावना छ। व्यापार व्यवसायमा प्रगति हुनेछ र रोकिएका कामहरू पूरा हुनेछन्। साझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि थपिन सक्छ। आर्थिक आम्दानी बढ्ने भएकाले मनमा उत्साह जाग्नेछ। परिवारका आवश्यकताहरू सहज रूपमा पूरा गर्न सकिनेछ। नयाँ अवसरलाई सही रूपमा उपयोग गर्न सक्नुभयो भने भविष्यका लागि बलियो आधार तयार हुनेछ। परिवारमा आपसी समझदारी र प्रेम बढ्ने संकेत देखिन्छ।
तुलाः आज समय केही कठिन रहनेछ। साना व्यवहार र सामान्य समस्यामा अल्झिँदा महत्वपूर्ण योजना अधुरै रहन सक्छन्। आत्मविश्वासको कमीले गर्दा केही अवसर गुम्न सक्ने सम्भावना देखिन्छ। मेहनत गरे पनि त्यसको प्रतिफल अरूले लिन खोज्न सक्छन्, त्यसैले सतर्क रहनु आवश्यक हुनेछ। यद्यपि तपाईंको सन्तुलित सोच र व्यवहारका कारण जटिल परिस्थिति सहज रूपमा सम्हाल्न सकिनेछ। परिवारभित्र समझदारी बढ्नेछ र प्रियजनको साथले मानसिक शान्ति मिल्ने ग्रह गोचर छ।
वृश्चिकः आजको दिन केही उतारचढावपूर्ण रहनेछ। चन्द्रमा मिथुन राशिमा रहँदा काममा अनावश्यक हस्तक्षेप गर्ने व्यक्तिहरू सक्रिय हुन सक्छन्, त्यसैले आफ्ना योजना गोप्य राख्नु राम्रो हुनेछ। बोलीको गलत अर्थ लाग्न सक्ने भएकाले बोल्दा सावधानी अपनाउनु आवश्यक छ। तथापि आत्मविश्वासका साथ अघि बढ्दा चुनौतीपूर्ण काममा पनि सफलता प्राप्त गर्न सकिनेछ। नेतृत्व गर्ने अवसर प्राप्त हुँदा तपाईंको क्षमता अरूले खुलेर प्रशंसा गर्नेछन्। परिवारका सदस्यहरूको साथ र सहयोगले मनोबल बलियो बन्नेछ र घरको वातावरण सकारात्मक रहने देखिन्छ।
धनुः आजको दिन केही सावधानी अपनाउनुपर्ने खालको रहनेछ। चन्द्रमा मिथुन राशिमा रहँदा स्वास्थ्यमा अचानक समस्या आउन सक्ने भएकाले लापरवाही नगर्नुहोला। चोटपटक वा विवादमा पर्ने सम्भावना देखिएकाले व्यवहारमा संयम आवश्यक हुनेछ। अरूका विषयमा धेरै चासो दिँदा अनावश्यक झमेलामा पर्न सकिनेछ। काममा अवसर आए पनि तत्काल ठूलो उपलब्धि नदेखिन सक्छ। यद्यपि नयाँ अनुभव प्राप्त गर्ने अवसर मिल्नेछ। परिवारसँग समय बिताउँदा मन हलुका हुनेछ र आर्थिक व्यवस्थापनमा ध्यान दिँदा भविष्य सहज बन्ने ग्रहगोचर छ।
मकरः आज समय मध्यम रहनेछ। स्वास्थ्यमा कमजोरी महसुस हुन सक्ने भएकाले आराम र सावधानी आवश्यक हुनेछ। जोखिमपूर्ण कामको जिम्मेवारी आउन सक्ने भएकाले निर्णय गर्दा सोचविचार गर्नु राम्रो हुनेछ। कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्ने सम्भावना छ, त्यसैले आफ्नो अधिकार र कामप्रति सजग रहनु आवश्यक हुनेछ। यद्यपि जिम्मेवारीप्रति गम्भीर भएर काम गर्नुभयो भने राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। वरिष्ठ व्यक्तिबाट सकारात्मक सुझाव प्राप्त हुनेछ। परिवारभित्र सहयोग र सद्भाव कायम रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ।
कुम्भः आज दिन शुभ र रमाइलो रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ र मनमा नयाँ उत्साह जाग्नेछ। प्रियजनसँगको भेटघाट तथा मनोरञ्जनात्मक गतिविधिले दिन खुसीमय बन्नेछ। मिथुन राशिको चन्द्रमाको प्रभावले प्रेम र मित्रताको सम्बन्ध अझ बलियो हुनेछ। नयाँ काम सुरु गर्ने प्रेरणा मिल्नेछ र आम्दानी बढाउने अवसर प्राप्त हुन सक्छ। व्यवसायको सिलसिलामा यात्रा गर्ने सम्भावना पनि देखिन्छ। साथीभाइको सहयोगले काम सहज रूपमा सम्पन्न हुनेछ। परिवारसँग बिताएको समयले मानसिक सन्तुलन र आत्मीयता बढाउने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ।
मीनः आज दिन मध्यम फलदायी रहनेछ। चन्द्रमा मिथुन राशिमा रहँदा सोचेजस्तो योजना पूरा हुन केही ढिलाइ हुन सक्छ। अरूको कुरामा धेरै विश्वास गर्दा आफ्नै काममा असर पर्न सक्ने भएकाले सतर्क रहनु आवश्यक हुनेछ। सेवामूलक वा सामाजिक कामबाट लाभ प्राप्त हुने सम्भावना देखिन्छ। बौद्धिक प्रतिस्पर्धामा सफलता प्राप्त हुने योग छ। मेहनत र धैर्यका साथ अघि बढ्नुभयो भने दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ। परिवारसँगको सम्बन्ध अझ मधुर बन्नेछ र घरको वातावरण सकारात्मक रहने देखिन्छ।
साइत (यात्रा): सूर्य मिथुन राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः०७ बजेदेखि ६ः५१ बजेसम्म रोग बेला
बिहान ६ः५१ बजेदेखि ८ः३५ बजेसम्म उद्धेग बेला
बिहान ८ः३५ बजेदेखि १०ः१९ बजेसम्म चर बेला
बिहान १०ः१९ बजेदेखि १२ः०३ बजेसम्म लाभ बेला
मध्यान्हमा १२ः०३ बजेदेखि १ः४६ बजेसम्म अमृत बेला
दिनमा १ः४६ बजेदेखि ३ः३० बजेसम्म काल बेला
दिनमा ३ः३० बजेदेखि ५ः१४ बजेसम्म शुभ बेला
दिनमा ५ः१४ बजेदेखि ६ः५८ बजेसम्म रोग बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः५८ बजेदेखि ८ः१४ बजेसम्म उद्धेग बेला
साँझ ८ः१४ बजेदेखि ९ः३० बजेसम्म चर बेला
राति ९ः३० बजेदेखि १०ः४६ बजेसम्म लाभ बेला
राति १०ः४६ बजेदेखि १२ः०३ बजेसम्म अमृत बेला
राति १२ः०३ बजेदेखि १ः१९ बजेसम्म काल बेला
राति १ः१९ बजेदेखि २ः३५ बजेसम्म शुभ बेला
रातिमा २ः३५ बजेदेखि ३ः५१ बजेसम्म रोग बेला
रातिमा ३ः५१ बजेदेखि ०५ः०७ बजेसम्म उद्धेग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





