Nidan Media

पोखरामा शुरू भयो खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल २०८३ शनिबारदेखि पोखरामा शुरू भएको छ।

पोखरा रङ्गशालामा आयोजित महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले बालबालिकाहरूमा खेल जीवनको बलियो जग बसाउन सानै उमेरदेखि खेलकुद गतिविधिमा सक्रिय सहभागिता आवश्यक रहेको बताए।

खेलकुदले शारीरिक तन्दुरुस्ती मात्र नभई स्वास्थ्य, सामाजिक एकता र सामूहिक कार्यक्षमता विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे ।

“सफल खेल जीवनको जग बाल्यावस्थादेखि नै खेलकुदजन्य गतिविधिहरूमा निरन्तर सहभागिता हो,” उनले भने।

पोखरा महानगरपालिकाले विभिन्न उमेर समूहका लागि लक्षित गर्दै खेलकुद कार्यक्रमहरू सञ्चालन गर्दै आएको पनि उनले जानकारी दिए।

असार २ गतेसम्म सञ्चालन हुने महोत्सवमा कराँते, जुडो, टेबल टेनिस, साइक्लिङ, जिम्न्यास्टिक, हक्की, ह्वीलचियर बास्केटबल, बोसिया, दृष्टिविहीन क्रिकेट तथा बौद्धिक अपाङ्गता दौडलगायतका प्रतियोगिताहरू समावेश छन् ।

खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारका अनुसार “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, समुन्नत पोखराका लागि खेलकुद” भन्ने नारासहित महोत्सव आयोजना गरिएको हो ।

समितिका सचिव बज्र अधिकारीले महोत्सवमा सयौँ खेलाडीहरूको सहभागिता रहेको जानकारी दिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.