Nidan Media

बुचाकोटमा बस दुर्घटना: आठ जनाको मृत्यु, १७ घाइतेलाई धुलिखेल लगियो

काठमाडौँ। काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुचाकोटमा शुक्रबार भएको भीषण बस दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

बीपी राजमार्गबाट करिब ३०० मिटर तल खाेल्सामा खसेको बस पूर्ण रूपमा क्षतविक्षत भएको छ भने दुर्घटनास्थलमा बसका भागहरू पाखाभरि छरिएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा.३ ख. ८३९८ नम्बरको अरनिको यातायातको बस अनियन्त्रित भएर सडकबाट तल खसेको हो।

प्रहरीका अनुसार दुर्घटनामा सात जनाको मृत्यु भएको छ। बसमा २५ देखि ३० जना यात्रु सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ।

दुर्घटनाको तीव्रताका कारण बस पूर्ण रूपमा चकनाचुर भएको र उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका १७ जनालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। अस्पतालमा उनीहरूको उपचार भइरहेको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी छ।

दुर्घटनापछि प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र उद्धारकर्मीको टोली घटनास्थलमा खटिएको छ। भीरालो भूभाग र बस गहिरो खाेल्सामा खसेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

प्रहरीले मृतक र घाइतेहरूको पहिचान खुलाउने काम गरिरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.