काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप २०२६ आजबाट औपचारिक रूपमा शुरू हुँदैछ। मेक्सिको सिटीस्थित रंगशालामा हुने उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ । नेपाली समयअनुसार यो खेल शुक्रबार बिहान १२:४५ बजे शुरू हुने तालिका रहेको छ।
यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना भइरहेको छ । जसमा पहिलोपटक ४८ टोलीहरूले सहभागिता जनाउँदै छन्। कुल १०४ खेलहरू हुने यस प्रतियोगितालाई क्यानडा, मेक्सिको तथा संयुक्त राज्य अमेरिकाका १६ वटा सहरहरूले संयुक्त रूपमा आयोजना गरेका हुन्। आजको उद्घाटन खेलसँगै एक महिनाभन्दा बढी समयसम्म चल्ने विश्व फुटबल महोत्सवको औपचारिक शुरुआत हुनेछ।
घरेलु समर्थकमाझ खेल्ने अवसर पाएको मेक्सिको विजयी शुरुआत गर्ने लक्ष्यमा देखिन्छ। रोचक पक्ष के छ भने, यो खेल सन् २०१० को विश्वकप उद्घाटन खेलको पुनरावृत्ति जस्तै बनेको छ।
दक्षिण अफ्रिकामा भएको त्यस विश्वकपको पहिलो खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले सिफिवे शाबालालाको गोलमार्फत अग्रता लिए पनि मेक्सिकोका कप्तान राफायल मार्केजले बराबरी गोल गरेपछि खेल १-१ मा टुङ्गिएको थियो।
यसपटक मार्केज खेलाडीका रूपमा नभई मेक्सिकोका मुख्य प्रशिक्षक जाभियर अगुइरेका सहायक प्रशिक्षकका रूपमा टोलीसँगै मैदानमा रहनेछन्। मेक्सिकोका प्रशिक्षक अगुइरेले घरेलु मैदानमा विश्वकप खेल्नु आफ्ना खेलाडीका लागि विशेष प्रेरणाको स्रोत भएको बताए।
उनले आफ्नो ५० वर्षको फुटबल यात्रामा विश्वकप घरेलु मैदानमा खेल्नुजत्तिको रोमाञ्चक अनुभव अरू नभएको उल्लेख गर्दै खेलाडीहरूले पनि यो अवसरलाई विशेष रूपमा महसुस गरिरहेको र टोली परिवारझैँ एकताबद्ध बनेको दाबी गरे।
यता दक्षिण अफ्रिका अफ्रिकी छनोटको समूह ‘सी’ विजेता बनेर विश्वकपमा पुगेको टोली हो। टोलीका प्रशिक्षक हुगो ब्रुसले मेक्सिको समूहकै बलियो टोली भए पनि आफ्ना खेलाडीले अन्तिम मिनेटसम्म प्रत्येक बलका लागि कडा सङ्घर्ष गर्ने बताएका छन्।
दक्षिण अफ्रिकाका मिडफिल्डर टेबोहो मोक्वेनाले उद्घाटन खेलप्रति टोली निकै उत्साहित रहेको र स्वदेशका समर्थकका लागि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको प्रतिक्रिया दिए।
दक्षिण अफ्रिकाले खेलअघि एउटा सुखद खबर पनि पाएको छ, जसमा ह्यामस्ट्रिङ चोटबाट पीडित लेफ्ट-ब्याक अउब्रे मोडिबा पूर्ण रूपमा फिट हुने अपेक्षा गरिएको छ।
उद्घाटन खेलका लागि मेक्सिकोको टोलीबाट रान्गेल, गालार्डो, भास्केज, मोन्टेस, रेयेस, गुटिएरेज, लिरा, फिडाल्गो, किनोनेस, अल्भाराडो र जिमेनेजले खेल्नेछन् भने दक्षिण अफ्रिकाको टोलीबाट विलियम्स, मुदाउ, ओकोन, म्बोकाजी, मडिबा, मोक्वेना, सिथोले, माथोहो, मोरेना, फोस्टर र अपोलिसले मैदान उत्रने तालिका तय भएको छ।
भरिभराउ रङ्गशाला, विश्वभरका करोडौँ दर्शक र नयाँ इतिहास लेखिने अपेक्षाबिच मेक्सिको सिटीमा आजबाट विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको पर्दा उठ्न लागेको हो।
मेक्सिकोले घरेलु समर्थकसामु विजयी शुरूआत गर्ने प्रयास गर्नेछ भने दक्षिण अफ्रिकाले प्रतियोगिताको पहिलो खेलमै उल्टो अर्थात् अप्रत्याशित नतिजा निकाल्ने लक्ष्य राखेको छ।





