काठमाडौँ। नेपालको मौसममा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने सुदूरपश्चिमको तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।
कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
साथै, लुम्बिनीको तराई तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रका एक-दुई स्थानमा मध्यम वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
यता, वर्षा नहुने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानमा अत्यधिक गर्मी तथा तातो हावा (लु) को अवस्था कायमै रहने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागसहित अन्य हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ।
मधेस प्रदेश तथा बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
रातिको समयमा कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थान तथा मधेस र अन्य हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।




