Nidan Media

एसियन गेम्स छनोटको उपाधि नेपाललाई, फाइनलमा हङकङ पराजित

काठमाडौँ। सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको छ।

सोमबार भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस (डकवर्थ-लुइस-स्टर्न) पद्धतिअनुसार १९ रनले पराजित गर्दै उपाधि जितेको हो।

हङकङले दिएको १८९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि डीएलएस पद्धतिअनुसार नेपालको पार स्कोर ९५ निर्धारण भएको र नेपाल १९ रनले अघि रहेकाले विजयी घोषित भयो।

नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ४० बलमा ६५ रन बनाए। कप्तान रोहित पौडेल ३५ रनमा तथा दीपेन्द्रसिंह ऐरी ९ रनमा अविजित रहे। हङकङका एहसान खान र आयुष शुक्लाले समान एक-एक विकेट लिए।

नेपाल वर्षाका कारण टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी रन चेज पूरा गर्न भने चुकेको छ। १८९ रनको लक्ष्य सफलतापूर्वक भेट्टाएको भए नेपालको इतिहासकै सबैभन्दा ठूलो रन चेज हुने थियो।

यसअघि नेपालले सन् २०२५ मा कुवेतविरुद्ध १८६ रनको लक्ष्य पूरा गरेको कीर्तिमान बनाएको थियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। हङकङका लागि अंशुमन राथले ४५ बलमा ६ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ८० रन बनाए भने शाहिद वासिफले २८ बलमा ५५ रन जोडे। शिव माथुरले २६ रनको योगदान दिए।

नेपालका बलरमध्ये शेर मल्ल उत्कृष्ट रहे। उनले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे। १८ ओभरमा १७९-५ को अवस्थामा पुगेको हङकङलाई अन्तिम दुई ओभरमा नेपालले प्रभावकारी बलिङ गर्दै ठूलो स्कोर बनाउन दिएन।

फाइनलअघि नेपाल र हङकङ दुवै टोली अपराजित रहँदै उपाधि भिडन्तसम्म पुगेका थिए। अन्ततः वर्षाले प्रभावित खेलमा डीएलएसको सहाराले नेपालले उपाधि उचाल्दै प्रतियोगिता अपराजित रूपमा समाप्त गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.