काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदली छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशसहित बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, मधेस प्रदेशसहित अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यता, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मी र प्रदूषणको प्रभाव बढ्न सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि कोशी प्रदेशसहित हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेश र बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोशी प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा दिउँसो र राति दुवै समयमा ‘लू’ वा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, मौसममा आउने परिवर्तन र सम्भावित जोखिमबारे अद्यावधिक जानकारी नियमित रूपमा प्राप्त गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ।





