काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले रोजगारी सिर्जना, उद्योग संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्। राज्यले लगानीमैत्री वातावरण सिर्जना गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।
शनिबार नेपाल सुनचाँदी कला व्यवसायी संघको २४औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनलाई सम्बोधन गर्दै नेपालले राज्यको प्रमुख दायित्व रोजगारीका अवसर सिर्जना गर्नु र उद्योग-व्यवसाय फस्टाउन अनुकूल वातावरण बनाउनु रहेको बताए। उद्योग तथा व्यवसायमा प्रतिकूल असर पर्ने नीतिहरू सरकारले अवलम्बन गर्न नहुने उनको धारणा थियो।
उद्योग तथा व्यवसायको पर्याप्त प्रवर्द्धन हुन नसक्दा देशभित्र रोजगारीको अभाव बढेको र युवाहरू वैदेशिक रोजगारीतर्फ पलायन हुन बाध्य भएको उनले बताए। आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादन र निर्यातमुखी बनाउन सरकार स्पष्ट रणनीतिका साथ अघि बढ्न नसकेको उनको आरोप थियो।
नेपालले स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने उल्लेख गर्दै त्यसतर्फ सरकारको पर्याप्त ध्यान नपुगेको बताए। रोजगारी सिर्जना गर्न सक्ने सबै क्षेत्रको पहिचान गरी राज्यले आवश्यक प्रोत्साहन दिनुपर्नेमा उनले जोड दिए।
उनले नेपालमा विशेषगरी औषधि उद्योग संकटमा परेको उल्लेख गर्दै करिब १५० वटा औषधि उद्योग बन्द हुने अवस्थामा पुगेको दाबी गरे। यस विषयमा संसद, राजनीतिक दल तथा सरोकारवाला निकायहरूले सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ थियो।
सरकारले निजी क्षेत्रका गुनासा सुन्ने, नियमित संवाद गर्ने र नीतिगत सुधारमार्फत उद्योग–व्यवसायलाई संरक्षण गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। संवाद र सहकार्यबाट उद्योग तथा व्यवसायका समस्या समाधान गर्न सकिने उनको विश्वास थियो।
सह-संयोजक नेपालले कृषि, जलविद्युत् र खनिज स्रोतको विकासलाई आर्थिक समृद्धिको आधारका रूपमा उल्लेख गर्दै उत्पादन, रोजगारी र आम्दानी वृद्धि भए उपभोग तथा व्यापार स्वतः विस्तार हुने बताए।
नेपालका सिमेन्ट उद्योगलगायत विभिन्न उत्पादनमूलक क्षेत्र समस्यामा रहेको उल्लेख गर्दै प्राकृतिक स्रोत–साधनको उपयोगमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले सुनचाँदीलगायतका वस्तुमा हुने अवैध कारोबार नियन्त्रण गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताए। वैध व्यापारलाई प्रोत्साहन गर्दै स्वदेशी उद्योगको संरक्षण र विकासमा सरकार केन्द्रित हुनुपर्ने उनको धारणा थियो।
नेपालमा रहेका खनिज, कृषि र ऊर्जा स्रोतको वैज्ञानिक अध्ययन तथा सदुपयोग गर्न सके औद्योगिक विकास र आर्थिक समृद्धिको आधार तयार हुने उनले बताए।



