काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री आजदेखि खुला गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत छ लाख ५५ हजार सात सय कित्ता साधारण सेयर निष्कासन तथा बिक्रीका लागि आवेदन आह्वान गरेको हो ।
यसअघि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७९ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो । उक्त सेयरको बाँडफाँड सम्पन्न भएपछि सर्वसाधारणका लागि आवेदन खुला गरिएको कम्पनीले जनाएको छ ।
निष्काशित सेयरमध्ये ३९ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषका लागि तथा १५ हजार आठ सय कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
कम्पनीलाई एक मूल्याङ्कन संस्थाले ‘डबल बी’ श्रेणीको मूल्याङ्कन प्रदान गरेको छ । उक्त मूल्याङ्कनले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाइएको छ ।
प्राथमिक शेयरमा आवेदन दिने अवधि छिटोमा जेठ २७ गतेसम्म रहनेछ । पर्याप्त आवेदन नपरेमा अवधि असार ५ गतेसम्म थप हुन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै, धितोपत्रको विद्युतीय आवेदन प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध रहेको छ ।




