काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ले सन् २०२३ अक्टोबरदेखि जारी द्वन्द्वमा हालसम्म आठ हजार हिजबुल्लाह लडाकु मारिएको दाबी गरेका छन्।
उनले पछिल्लो एक महिनामा मात्रै करिब सात सय लडाकु मारिएको बताउँदै लेबनानमा सैन्य कारबाहीलाई अझ सघन बनाउन सेनालाई निर्देशन दिएका छन्।
आइतबार भिडियो सन्देश जारी गर्दै नेतन्याहुले इजरायलले हिजबुल्लाह विरुद्धको अभियानलाई थप प्रभावकारी बनाएको दाबी गरे।
उनले हालको प्राथमिकता कब्जा गरिएका रणनीतिक क्षेत्रहरूमा इजरायली नियन्त्रणलाई मजबुत बनाउनु रहेको बताए।
दक्षिणी लेबनानको रणनीतिक रूपमा महत्वपूर्ण ब्यूफोर्ट रिज र त्यहाँस्थित ऐतिहासिक किल्ला इजरायली सेनाले नियन्त्रणमा लिएपछि प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो।
यद्यपि नेतन्याहुले सार्वजनिक गरेको यो तथ्यांक स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। हिजबुल्लाह वा लेबनानी अधिकारीहरूले पनि उक्त दाबीबारे तत्काल कुनै प्रतिक्रिया जनाएका छैनन्।
उक्त क्षेत्र अप्रिलको मध्यतिर लागू भएको युद्धविरामपछि इजरायलले कायम राखेको सुरक्षा क्षेत्रभन्दा बाहिर पर्ने बताइएको छ।
नेतन्याहुले इजरायली सेना लिटानी नदी पार गर्दै ब्यूफोर्टसहितका महत्वपूर्ण रणनीतिक स्थानहरूमा पुगेको र ती क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जानकारी दिएका छन्। उनले लेबनानभित्रको सैन्य उपस्थितिलाई थप सुदृढ पार्न निर्देशन दिइएको पनि बताएका छन्।
उनका अनुसार हिजबुल्लाहविरुद्धको अभियानले उल्लेखनीय सफलता हासिल गरेको छ। हालसम्म आठ हजार लडाकु मारिएको र पछिल्लो एक महिनामा मात्रै सात सय जना मारिएको उनको दाबी छ।
इजरायल र हिजबुल्लाहबीचको तनाव पछिल्ला महिनाहरूमा निरन्तर चर्किँदै गएको छ। सीमावर्ती क्षेत्रमा जारी आक्रमण र प्रतिआक्रमणका बीच इजरायलले लेबनानभित्र आफ्नो सैन्य पकड विस्तार गर्ने संकेत दिएको छ।




