काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा आजदेखि भारत भ्रमणमा जाने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक गरेको कार्यक्रमअनुसार पार्टी सभापति लामिछाने आउँदो शुक्रबारसम्म भारतमा रहनेछन्। उनी नितिन नवीन को निमन्त्रणामा भारत भ्रमणमा जान लागेका हुन्।
भ्रमणका क्रममा लामिछानेले नयाँदिल्ली मा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
साथै उनले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्नेछन्।
भारत भ्रमणकै क्रममा लामिछाने व्यक्तिगत भ्रमणका लागि अयोध्या समेत जाने कार्यक्रम रहेको छ।
रास्वपाका अनुसार भ्रमण टोलीमा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य पनि सहभागी हुनेछन्।
भाजपाको विज्ञप्तिअनुसार भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले अध्यक्ष नवीनसहित पार्टीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्नेछ।
विजय चौथाइवाले ले जारी गरेको विज्ञप्तिमा रास्वपा र भाजपा बीच सहकार्यको आधार निर्माण गर्ने, संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान गर्ने उद्देश्य रहेको उल्लेख गरिएको छ।
भाजपाले भ्रमणका क्रममा दुवै पक्षबीच रचनात्मक संवाद हुने विश्वास व्यक्त गरेको छ।




