काठमाडौँ। आज विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
नेपालमा पनि सूर्तीजन्य वस्तुहरूको प्रयोग विरुद्ध सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
हरेक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई धुम्रपानविरुद्धको दिवस पनि भनिन्छ ।
दिवसका अवसरमा सूर्तीजन्य वस्तुहरूको सेवनबाट मानवीय स्वास्थ्यमा पर्ने हानी नोक्सानीबारे सचेतना जगाउने कार्यक्रमहरू गरिन्छ ।
स्वास्थ्य अधिकारका क्षेत्रमा काम गरिरहेका सरकारी निकाय र गैरसरकारी संघसंस्थाले सूर्तीजन्य वस्तुको सेवनबाट मानव स्वास्थ्यमा पर्ने असरप्रति चेतना जगाउने खालका अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम आयोजना गर्दछन् ।
यस दिवसका अवसरमा सूर्तीजन्य वस्तुको खपतलाई न्यूनीकरण गर्न नीतिगत वकालतका कार्यक्रम समेत आयोजना गरिन्छन् ।
नीतिगत वकालतका माध्यमबाट सूर्तीजन्य वस्तुको खपतलाई न्यूनीकरण गर्नु नै यो दिवस मनाउनुको मुख्य उद्देश्य रहेको छ।





