काठमाडौँ । नेपाली महिला क्रिकेट टोली जापानमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ। मलेसियाको क्वालालम्पुरमा शनिबार भएको सेमिफाइनलमा नेपाल आयोजक मलेसियासँग २ विकेटले पराजित भएको हो।
नेपालले दिएको १२७ रनको लक्ष्य मलेसियाले १८ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्दै फाइनलमा स्थान बनायो। मलेसियाको जितमा एल्सा हन्टरले २४ बलमा ४८ रनको आक्रामक इनिङ्स खेलिन्।
नेपालका लागि रिया शर्माले ३ विकेट लिइन् भने कप्तान रुबिना क्षेत्री र मनिषा उपाध्यायले समान २–२ विकेट हात पारे। तर बलरहरूको प्रयास जितका लागि पर्याप्त हुन सकेन।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनाएको थियो। कप्तान इन्दू बर्मा ४१ बलमा ४६ रन बनाउँदै अविजित रहिन्। कविता कुँवरले १५ बलमा ३३ रनको तीव्र पारी खेलेर नेपालको स्कोर उकासेकी थिइन्।
नेपाल समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको थियो। पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा इन्डोनेसियालाई ४ विकेटले हराउँदै समूह विजेताका रूपमा अन्तिम चारमा स्थान बनाएको थियो।
सेमिफाइनलमा हार बेहोरेपछि नेपाल अब तेस्रो स्थानका लागि आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ। यता मलेसियाले उपाधिका लागि थाइल्यान्डसँग खेल्नेछ।
अर्को सेमिफाइनलमा थाइल्यान्डले चीनलाई ८३ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। थाइल्यान्डले ३ विकेट गुमाएर १३७ रन बनाएकोमा चीन ५३ रनमै समेटिएको थियो।





