काठमाडौँ । किर्ते नागरिकता प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह सुटुक्क अदालत पुगेर बाहिरिएपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा तरंग उत्पन्न भएको छ ।
पर्सा जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले खोजी अभियान चलाइरहेका समयमा सिंह सुटुक्क अदालत पुगेर बाहिरिँदासम्म सुरक्षा निकायलाई किन जानकारी दिइएन भन्ने विषय बहसमा आएको छ।
प्रहरीले घटना शंकास्पद बनेको भन्दै अनुसन्धानको मुख्य केन्द्र बनाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।
एसपी पाठकले मेयर सिंह कसको सहयोग, समन्वय वा सम्भावित संरक्षणमा अदालत प्रवेश गरे र कसरी प्रहरीको निगरानी छलेर बाहिरिए भन्ने विषयलाई अत्यन्तै गम्भीर रूपमा लिएको बताए ।
प्रहरीका अनुसार अदालतमा मेयर सिंह आएको सूचना ढिलो गरी प्राप्त भएपछि विशेष टोली तत्काल अदालत पुगेको थियो । तर टोली पुग्नुअघि नै उनी त्यहाँबाट बाहिरिसकेका थिए । यस घटनापछि अदालत परिसरभित्रको सुरक्षासमेत प्रश्नको घेरामा परेको छ ।
प्रहरीले मेयर सिंहको सम्भावित लुक्ने स्थान, राजनीतिक सम्पर्क तथा आवतजावतका मार्गहरूमा निगरानी बढाएको जनाएको छ । सीमावर्ती क्षेत्रसमेत लक्षित गरी विशेष टोली परिचालन गरिएको छ ।
स्थानीय सरकारको प्रमुख नै पक्राउ पुर्जी जारी भएपछि फरार हुनु र प्रहरीको निगरानी छलेर अदालत आवतजावत गर्न सफल हुनुले सुरक्षा संयन्त्र, सूचनाको समन्वय र सम्भावित राजनीतिक संरक्षणबारे गम्भीर प्रश्न उठाइएको बताइन्छ ।





