पोखरा । पोखरा महानगरपालिकाले फिर्के खोलाको संरक्षण, संवर्द्धन तथा सौन्दर्यीकरण अभियानलाई तीव्रता दिँदै खोलाघरभित्र निर्माण गरिएका सम्पूर्ण संरचना हटाउन सम्बन्धित पक्षलाई पुनः आग्रह गरेको छ । महानगरले २०८३ जेठ ९ गतेभित्र खोलाघर खाली गर्न सबै सरोकारवालासँग अनुरोध गरेको हो ।
महानगरका अनुसार नदी तथा खोलानाला मानव सभ्यता, वातावरणीय सन्तुलन र प्राकृतिक जीवनचक्रसँग प्रत्यक्ष रूपमा जोडिएका महत्वपूर्ण सम्पत्ति हुन् । जल, जमिन र जङ्गलको दिगो व्यवस्थापनले मानव जीवन मात्र होइन, समग्र पारिस्थितिक प्रणालीलाई नै सन्तुलित बनाउन भूमिका खेल्ने उल्लेख गरिएको छ ।
महानगरले पोखराको मध्यभाग हुँदै बग्ने फिर्के खोलाको प्राकृतिक बहाव विभिन्न स्थानमा व्यक्तिगत तथा संस्थागत अतिक्रमणका कारण प्रभावित बनेको जनाएको छ । अतिक्रमणका कारण खोलाको अस्तित्व नै संकटमा पर्ने अवस्था सिर्जना भएपछि संरक्षण तथा विशेष सौन्दर्यीकरणको योजनासहित खोलाघर नापजाँच कार्य सम्पन्न गरिएको महानगरको भनाइ छ ।
यसअघि महानगरले २०८० कात्तिक १० गते ३५ दिने सूचना जारी गर्दै खोलाघरभित्र निर्माण भएका संरचना हटाउन आग्रह गरेको थियो । उक्त सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भए पनि अदालतले उत्प्रेषण र परमादेश जारी गर्न नपर्ने आदेश दिएको महानगरले जनाएको छ ।
पछिल्लो पटक २०८३ वैशाख ४ गते पुनः सूचना जारी गर्दै महानगरले फिर्के खोलाको प्राकृतिक स्वरूप जोगाउन तथा दीर्घकालीन वातावरणीय संरक्षणका लागि खोलाघर खाली गराउन लागेको स्पष्ट पारेको छ । महानगरले तोकिएको समयभित्र स्वेच्छाले संरचना हटाई सहयोग गर्न सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गरेको छ ।





