Nidan Media

आज देशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने

पोखरा। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव रहेको जनाएको छ।

यसको प्रभावका कारण अहिले देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ। लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि मौसम प्रभावित हुने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, मधेस प्रदेशसहित अन्य पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

यता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने तथा ‘तातो दिन’को अवस्था रहने सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली कायम रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका अधिकांश क्षेत्रमा भने रातिको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.