काठमाडौँ। संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ। न्यायालय नेतृत्वविहीन हुँदा अन्योल बढेकाले शीघ्र सुनुवाइ प्रक्रिया टुङ्ग्याउने तयारीका साथ आज बिहान ८ बजे समितिको चौथो बैठक बस्न लागेको हो।
आजको बैठकमा प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध परेका उजुरीहरू खोलिने र सुनुवाइको कार्ययोजना सांसदहरूलाई वितरण गरिने मुख्य कार्यसूची रहेको छ।
समितिको निर्धारित कार्यतालिका अनुसार बिहान ८ बजे उजुरीहरू खोलेर अध्ययनका लागि संसद्हरूलाई वितरण गरिसकेपछि बिहान ९ बजेर ४५ मिनेटमा उजुरीकर्ताहरूलाई बोलाएर छलफल गरिनेछ।
उजुरीकर्ताहरूसँगको छलफलमा कति समय लाग्छ, त्यसकै आधारमा सिफारिस गरिएका डा. शर्माको मुख्य सुनुवाइ प्रक्रिया अगाडि बढ्ने जानकारी समितिका एक सदस्यले दिएका छन्। सुनुवाइ प्रक्रिया सकिएलगत्तै नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे समिति आजै एउटा स्पष्ट निर्णयमा पुग्नेछ।
प्रधानन्यायाधीशको सुनुवाइका अतिरिक्त आज संसद्का अन्य दुई विषयगत समितिहरूको बैठक पनि बस्दै छ। बिहान ९:३० बजे बस्ने अर्थ समितिको बैठकमा विभिन्न उपसमितिहरूले हालसम्म सम्पादन गरेका कामकारबाही र प्रगतिका सम्बन्धमा जानकारी लिइनेछ भने अन्य विविध आर्थिक एजेन्डाहरूमा पनि छलफल हुनेछ।





