काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र प्रक्रिया पूरा गरी दर्ताका लागि आएका रिट निवेदनहरू दर्ता गर्न आदेश दिएकी छन्।
गत वैशाख २३ र २५ गतेलगायत विभिन्न मितिमा दर्ताका लागि पेश भएका रिट निवेदनहरू दरपीठ गरिएको र त्यसविरुद्ध समेत दर्ता प्रक्रिया अघि नबढेको गुनासोपछि उनले उक्त आदेश जारी गरेकी हुन्।
कामु प्रधानन्यायाधीश मल्लले दर्ता भएका सबै रिट निवेदनहरूलाई जेठ ५ गतेका लागि पेसीमा चढाउनसमेत निर्देशन दिएकी छन्।
उनले नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७ र ८ अनुसार आवश्यक निर्देशन र आदेश जारी गर्नुपरेको उल्लेख गरेकी छन्।
यसअघि सर्वोच्च अदालत नियमावलीको नियम ८ अनुसार मुख्य रजिस्ट्रारलाई दरपीठ गर्ने अधिकार रहेको भए पनि विशेष परिस्थितिमा न्याय प्रशासनमा देखिएको अवरोध समाधान गर्न यस्तो आदेश आवश्यक भएको आदेशमा उल्लेख छ।





