गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राति करिब १० बजे सत्यवती गाउँपालिका-१ ठूलाबगर छल्दीस्थित सडकखण्डमा रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु३६प ३६२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल खसेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाको कालीगण्डकी गाउँपालिका-३ भुस्तुङका ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमानसिंह राना गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार थापाको टाउकोमा गम्भीर चोट लागेको थियो भने रानाको टाउको र खुट्टामा चोट लागेको थियो।
दुवैजनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लगिएकोमा उपचारकै क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारूले जानकारी दिए।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर विक तथा इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। मृतक दुवै जनाको शव परीक्षणका लागि गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ।





