काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज घरेलु टोली नेपाल र स्कटल्याण्डबीच रोमाञ्चक भिडन्त हुँदैछ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो बहुप्रतीक्षित खेल बिहान ९:३० बजेदेखि शुरू हुनेछ।
नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित यस त्रिकोणात्मक शृङ्खलामा हालसम्म तीन ओटा खेलहरू सम्पन्न भइसकेका छन्।
नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक शृङ्खलामा हालसम्म तीन खेल सम्पन्न भइसकेका छन्। उत्कृष्ट लयमा रहेको स्कटल्याण्डले आफ्ना दुवै शुरूआती खेलमा जित हात पार्दै शीर्ष स्थानमा मजबुत पकड बनाएको छ।
शृङ्खलाको पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ-लुइस-स्टर्न (डीएलएस) नियमका आधारमा २ रनले पराजित गरेको थियो।
त्यसपछि अमेरिकाविरुद्ध पनि स्कटल्याण्डले डीएलएसकै आधारमा २ रनको रोमाञ्चक जित निकालेको थियो।
यता, शनिबार सम्पन्न तेस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरले हराएको थियो। उक्त जितसँगै नेपालको आत्मविश्वास उच्च बनेको छ।
आज घरेलु मैदान र समर्थकको साथ पाउने नेपाल अघिल्लो हारको बदला लिँदै स्कटल्याण्डमाथि महत्त्वपूर्ण जित निकाल्ने लक्ष्यमा छ।
विश्वकप ग्लोबल क्वालिफायरको सम्भावना जीवित राख्न नेपालका लागि हरेक खेल ‘गर या मर’ को अवस्थामा पुगेको छ।
हाल आईसीसी क्रिकेट विश्वकप लिग-२ को अङ्क तालिकामा नेपाल २६ खेलबाट ९ जित, १५ हार र २ खेल अनिर्णित रहँदा २० अङ्कसहित सातौँ स्थानमा छ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्न नेपाल शीर्ष ६ भित्र रहनैपर्ने दबाबमा छ।
अर्कोतर्फ स्कटल्याण्ड ३० खेलमा १६ जित, ८ हार र ६ खेल अनिर्णितसहित ३८ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ।





