काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नका लागि नभई जवाफदेहिताको खोजी भएको बताएकी छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली नभई निरन्तर संवादको अभ्यास भएको उल्लेख गरिन् ।
ओलीले सदनमा प्रधानमन्त्रीको उपस्थिति माग्नुको उद्देश्य केवल उनको अनुहार हेर्न नभई जवाफदेहिताको माग भएको स्पष्ट पारिन् ।
उनले भनिन्, ‘लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली मात्र होइन। यो निरन्तर संवादको अभ्यास हो । त्यसैले यो स्थानमा हामीले प्रधानमन्त्रीज्यूलाई बोलाउनु, उहाँको उपस्थिति खोज्नु उहाँको केवल अनुहार हेर्नको लागि होइन। उहाँबाट जवाफदेहिता खोजेका हौँ।’
ओलीले पहिलो अधिवेशनमा प्रधानमन्त्री नबोली सदनबाट बाहिरिँदा आफूहरूले स्वीकार गरेको तर दोस्रो अधिवेशनमा पनि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित भएकोप्रति असन्तुष्टि जनाइन् ।
उनले सदनमा सुकुम्बासी र संवैधानिक परिषद्सम्बन्धी प्रश्न उठाउँदा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत जवाफ दिने गरेको टिप्पणी गर्दै प्रधानमन्त्री सदनप्रति अनिच्छुक रहेको आरोप लगाइन् ।
उनले भनिन्, ‘पहिलो अधिवेशनमा प्रधानमन्त्री नबोली जानुभयो हामीले स्वीकार गरेका थियौं । दोस्रो अधिवेशन शुरू भयो नीति तथा कार्यक्रम उहाँको कार्यक्रम हो । उहाँले अपनत्व नलिइकन कार्यक्रमको बीचमा उठेर जानुभयो । हामी सदनमा सुकुम्बासी र संवैधानिक परिषद्का प्रश्न उठाउँछौं, प्रधानमन्त्रीज्यू सामाजिक सञ्जालमा देश र जनतालाई जवाफ दिनुहुन्छ । सायद प्रधानमन्त्रीज्यू यो सदनप्रति अनिच्छुक हुनुहुन्छ । संसदीय अभ्यासप्रति उत्तरदायी बन्न खोज्नुभएको छैन ।’





