Nidan Media

ऐरीको शतकमा नेपालको रोमाञ्चक जित, यूएई ६ रनले पराजित

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले यूएईमाथि पुनः रोमाञ्चक जित दर्ता गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा भएको तेस्रो खेलमा नेपालले ६ रनको सनसनीपूर्ण जित हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै २८९ रनको बलियो योगफल तयार पारेको थियो।

उपकप्तान दिपेन्द्र सिंह ऐरीले ९४ बलमा १०० रनको शानदार शतक प्रहार गर्दै इनिङ्स सम्हाले। यस्तै विनोद भण्डारी ले ५६ रन, गुल्सन झा ले ४४ रन तथा कप्तान रोहित पौडेल ले ३९ रनको योगदान दिए।

जवाफमा वर्षाले प्रभावित खेलमा यूएईले ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको थियो। तर ८ विकेट गुमाउँदै २४८ रनमै सीमित भएपछि नेपालले ६ रनको रोमाञ्चक जित निकाल्न सफल भयो।

यूएईका मुहम्मद शहजाद ले ६५ रन तथा खुजैमा तन्वीरले २६ बलमा ४९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

नेपालका लागि सन्दीप लामिछाने ले ३ विकेट लिँदा सोमपाल कामीनन्दन यादव ले समान २-२ विकेट लिए।

यसअघि पनि नेपालले यूएईलाई ३७ रनले हराएको थियो र जारी शृंखलामा लगातार दोस्रो जित हात पारेको छ।

तर ओमानविरुद्ध भने नेपाल पराजित भएको थियो। उक्त खेलमा ओमान राष्ट्रिय क्रिकेट टोलीले ८ विकेट गुमाउँदै ३०५ रन बनाएको थियो, जहाँ कप्तान जतिन्दर सिंह ले ९६ बलमा १३० रनको उत्कृष्ट इनिङ्स खेले।

जवाफमा वर्षाका कारण डकवर्थ-लुइस नियमअनुसार नेपाल १०२ रनले पराजित भयो। नेपालले ३६ दशमलव ५ ओभरमा ७ विकेट गुमाउँदै १५५ रन मात्र बनाउन सक्यो, जहाँ पुनः दिपेन्द्रले ६० रनको योगदान दिए। कप्तान रोहित पौडेल भने १० रनमै सीमित रहे।

अब शृंखलाको अन्तिम खेलमा नेपालले पुनः ओमानसँग प्रतिस्पर्धा गर्नेछ, जहाँ जित निकाल्दै शृंखला सकारात्मक रूपमा टुंग्याउने लक्ष्य रहनेछ।

अंक तालिकामा २४ खेलबाट ३६ अंकसहित अमेरिका शीर्ष स्थानमा छ । २८ खेलबाट ३४ अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा छ ।

२६ खेलबाट ३१ अंकसहित ओमान तेस्रो, २४ खेलबाट २८ अंकसहित नेदरल्याण्डस् चौथो, २८ खेलबाट २२ अंकसहित नामिबिया पाँचौँ तथा २४ खेलबाट २१ अंकसहित क्यानाडा छैटौँ स्थानमा छ ।

२३ खेलबाट १६ अंकसहित नेपाल सातौँ तथा २३ खेलबाट १२ अंकसहित यूएई पुछारमा छ । नेपालका लागि आफूभन्दा माथिल्लो तालिकामा रहेका नामिबिया र क्यानाडालाई उछिन्न काठमाडौँका लगातार दुई श्रृंखलाका आठमध्ये कम्तीमा पाँच खेलमा जित अनिवार्य छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.