दाङ। रोल्पामा बिहीबार जीप दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ । मृतकमध्ये पाँच जना बालबालिका छन्। जसमा १० वर्षीय दिव्यन बिसी, १३ वर्षीय सुदीप बुढाथोकी, सात वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी र सात वर्षीय संयोग जिसी छन्।
साथै मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका-५ टाकुराका ३२ वर्षीय गोर्ख बुढाथोकी, ५३ वर्षीया तीलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, २४ वर्षीया सिर्जना बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी छन् ।
यसैगरी दाङको घोराही उपमहानगर-१६ रतनपुर बस्ने ५४ वर्षीया द्रौपती जिसी, ३२ वर्षीया तिला जिसी, २५ वर्षीया एलिना जिसी, उमेर नखुलेका लमजुङका यमबहादुर जिसी र घोराही-१३ बस्ने धनमाया बिष्ट रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनील थापाले जानकारी दिए।
थापाका अनुसार दाङ शान्तिनगर गाउँपालिका स्थायी घर भइ हाल रुकुम सिस्ने-५ बस्ने जीप चालक ४२ वर्षीय बेदबहादुर विक, सिस्ने-५ की ६० वर्षीया मीना कामी र ६० वर्षीया लक्ष्मी शाह, रुकुम पूर्वकै भूमे गाउँपालिका-५ का टेकप्रसाद बस्नेत र सिस्ने ५ कै २७ वर्षीया रुक्मिणा बस्नेतको पनि सोही दुर्घटनामा ज्यान गएको छ।
दुर्घटनास्थल अत्यन्तै अप्ठ्यारो भौगोलिक क्षेत्रमा रहेकाले उद्धार तथा शव निकाल्न केही ढिलाइ भएको प्रहरीले जनाएको छ ।
रुकुम पूर्वबाट रोल्पाको थबाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप बिहीबार दिउँसो रोल्पाको थबाङ गाउँपालिका-१ सल्याप भन्ने ठाउँमा भिरबाट ८०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
जीपमा चालकसहित २१ जना सवार रहेका थिए । तीमध्ये २० जनाको घटनास्थलममा नै मृत्यु भएको थियो । मृतक सबैको शवपरीक्षणका लागि थबाङस्थित आधारभूत अस्पतालमा ल्याइएको छ ।
छतमा बसेका रुकुम पूर्व सिस्ने गाउँपालिका-५ टाकुराका ३२ वर्षीय समीर कामी मात्रै जीवित छन् । उनले जीप दुर्घटना हुन लाग्दा छतबाट हामफालेर रूखको जरामा समातिँदै ज्यान जोगाएका हुन् ।
उनको थबाङ आधारभूत अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि गएराति पूर्वी रुकुम अस्पतालमा लगिएकामा अहिले उनलाई अस्पतालले घर पठाएको छ ।
उनको बायाँ खुट्टा, निधार र आँखामा चोट लागेको अस्पतालले जनाएको छ । दुर्गम भेग, निरन्तर वर्षा र कमजोर सञ्चार सञ्जाल, कच्ची सड्कलगायत कारण उद्धार कार्यमा कठिनाइ भएको रोल्पा प्रहरीले बताइएको छ ।
घटना भएको खबरलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासीको बिहीबार उद्धारमा जुटेका हुन् ।
उनीहरूले अबेररातिसम्म उद्धार कार्यमा लागे पनि बिहीबार उद्धार कार्य नसकिएपछि शुक्रबार बिहानैदेखि सुरक्षाकर्मी र स्थानीयवासीको सहभागितामा उद्धार कार्य सम्पन्न गरिएको हो ।
मृतकको शव सडकसम्म ल्याउन निकै कठिनाइ भएको सुरक्षा अधिकारीले जनाएका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कच्ची तथा चिप्लो सडक, लगातारको वर्षा र क्षमताभन्दा बढी यात्रु बोकेका कारण जीप अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ ।
मृतक सबै वैशाख पूर्णिमाको अवसरमा शुक्रबार जलजलामा लाग्ने बराह पूजामा सहभागी हुन जान लागका तीर्थयात्री हुन् ।





