काठमाडौँ। अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले आगामी वर्ष बजेटको आकार बढाउने अवस्था नरहेको बताएका छन्।
काठमाडौँमा आयोजित ‘अर्थको अर्थ’ कार्यक्रमको ३३ औँ वार्षिकोत्सवमा बोल्दै उनले बजेटको सीमा बढाए पनि खर्च गर्ने क्षमता कमजोर भएकाले ठूलो आकारको बजेट सम्भव नहुने संकेत गरेका हुन्।
उनले अब बजेटको आकार बढाउनेभन्दा यथार्थमा आधारित बजेट निर्माण गरी त्यसको पूर्ण उपयोगमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए। साथै, बजेट खर्चमा देखिएका कमजोरीहरूको पहिचान गरी सुधार गर्दै अघि बढिने उनको भनाइ छ।
पाण्डेयका अनुसार अर्थतन्त्रको आकार र बजेटबीचको सन्तुलन हेर्दा हाल बजेट करिब १८ खर्ब ९० अर्ब रुपैयाँको सीमामा रहेको छ। उनका अनुसार बजेट बढाउने अपेक्षा भए पनि खर्च क्षमता कमजोर भएकाले व्यवहारिक समस्या देखिएको छ।
उनले पछिल्ला महिनामा पुँजीगत खर्च निकै कमजोर रहेको उल्लेख गर्दै करिब २० देखि २२ प्रतिशत मात्र खर्च हुन सकेको बताए। त्यसैले बजेटको आकार बढाउनुभन्दा कार्यान्वयन क्षमतालाई बलियो बनाउनुपर्ने उनको जोड थियो।
सहसचिव पाण्डेयले विभिन्न क्षेत्रगत र विषयगत कमजोरीका कारण खर्च प्रभावकारी हुन नसकेको भन्दै ती विषयमा समीक्षा भइरहेको जानकारी दिए।
उनका अनुसार संरचनागत अवरोध र कानूनी जटिलताका कारण पनि समस्या देखिएको छ। यसै सन्दर्भमा आर्थिक क्षेत्रसँग सम्बन्धित केही कानूनहरू परिमार्जन तथा खारेज गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए।
उनले वर्तमान सरकार स्पष्ट जनादेशसहित बनेकाले आर्थिक सुधारका लागि यो उपयुक्त अवसर भएको पनि बताए।





