काठमाडौँ। भीष्मराज आङ्देम्बे नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।
संसदीय दल निर्वाचन समितिका संयोजकसमेत रहेका सहमहामन्त्री प्रकाश रसाइलीले आङ्देम्बे निर्विरोध निर्वाचित भएको जानकारी दिएका छन् ।
कांग्रेसभित्र संसदीय दलको नेताका लागि करिब दुई महिनादेखि रस्साकस्सी चलिरहेको थियो ।
अन्ततः सोमबारै बसेको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई सर्वसम्मत रूपमा नेता बनाउने सहमति जुटाएको थियो ।
यसअघि उक्त पदका लागि अर्जुननरसिंह केसी र मोहन आचार्यले समेत दाबी गर्दै आएका थिए, जसका कारण सहमति हुन ढिलाइ भएको थियो ।
प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डै दुई तिहाइ बहुमत रहेको सन्दर्भमा कांग्रेस सानो आकारमा भए पनि प्रमुख प्रतिपक्षी दलका रूपमा रहने निश्चित छ। यही कारण संसदीय दलको नेता केवल पार्टीभित्रको पद नभई राष्ट्रिय राजनीतिक शक्ति सन्तुलनसँग जोडिएको भूमिकामा परिणत भएको छ।
प्रमुख प्रतिपक्षी दलको नेताले संवैधानिक परिषद्मा समेत भूमिका पाउने भएकाले यो पद संस्थागत रूपमा प्रभावशाली मानिन्छ। त्यसैले कांग्रेसभित्र देखिएको रस्साकस्सी केवल आन्तरिक शक्ति संघर्ष मात्र नभई राज्य संयन्त्रमा प्रभाव कायम राख्ने प्रयासका रूपमा समेत बुझिएको छ।
को हुन् आङ्देम्बे?
२०२० सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ मा जन्मिएका आङ्देम्बे विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा स्थापित नेता हुन्। २०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा उभिएका उनी त्यसपछिका आन्दोलनहरूमा सक्रिय रहे। नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमार्फत संगठन निर्माणमा संलग्न हुँदै उनले पार्टीभित्र आफ्नो अलग पहिचान बनाएका छन्।
जनआन्दोलन २०४६ मा सक्रिय सहभागिताले उनलाई अग्रपंक्तिका युवा नेताका रूपमा स्थापित गर्यो। सो आन्दोलनले बहुदलीय लोकतन्त्र पुनःस्थापना गर्दा उनले प्रत्यक्ष योगदान दिएका थिए र त्यसक्रममा पक्राउ समेत परेका थिए। २०४६ देखि २०५२ सम्म नेविसंघको केन्द्रीय सदस्यका रूपमा काम गर्दै उनले संगठन विस्तार र कार्यकर्ता परिचालनमा भूमिका खेले।
२०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष बनेपछि उनको राजनीतिक प्रभाव थप विस्तार भयो। जनआन्दोलन २०६२/०६३ मा पनि उनी सक्रिय रहँदै राजतन्त्रविरुद्धको आन्दोलनमा सहभागी भए।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नम्बर २ बाट निर्वाचित हुँदै उनले संसदीय राजनीतिमा औपचारिक प्रवेश गरेका थिए। संविधानसभा अन्तर्गत उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिका रूपमा उनले आर्थिक नीति र उपभोक्ता अधिकारका क्षेत्रमा काम गरेका छन्।





