Nidan Media

संघीयताको मर्मअनुसार काम गरौँ, सबै कुरा प्रधानमन्त्रीमै निर्भर नहोस् : हर्कराज राई

ललितपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले संघीयताको मर्मअनुसार काम नभएको भन्दै वर्तमान अभ्यासप्रति असन्तुष्टि जनाए ।

राईले विकास र निर्माणका कामलाई गति दिन कानूनमा तत्काल ठूला परिवर्तन आवश्यक रहेको बताए । वर्तमान कानूनी संरचनाले काम गर्न कठिन बनाएको उल्लेख गर्दै उनले समयअनुकूल सुधार नगरे विकास अवरुद्ध हुने चेतावनी दिए।

उनका अनुसार सरकारी निकायहरूबीच समन्वय अभावका कारण काममा अवरोध सिर्जना भइरहेको छ । भौतिक पूर्वाधार मन्त्रालयले अघि बढाएका परियोजनामा वन मन्त्रालयले रोक लगाउने जस्ता विरोधाभासपूर्ण अवस्था रहेको भन्दै उनले यस्तो प्रवृत्ति अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।

राईले सबै संस्कृति र समुदायप्रति सम्मान आवश्यक रहेको पनि बताए । अल्पसंख्यक समुदायको संस्कृतिलाई दबाउने वा समाप्त गर्ने सोच गलत भएको भन्दै उनले समावेशी दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए ।

उनले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अधिकारको विकेन्द्रीकरण आवश्यक रहेको बताए । प्रत्येक निर्णयका लागि केन्द्र सरकार वा प्रधानमन्त्रीमै निर्भर हुने अवस्था संघीयताको भावना विपरीत भएको उनको भनाइ छ ।

राईले श्रमदानलाई प्रोत्साहन गर्न सरकारले आवश्यक स्रोत र साधन उपलब्ध गराउनुपर्ने बताए। श्रमको सम्मान गर्दै जनसहभागितामार्फत विकास निर्माणलाई अघि बढाउन सकिने उनको धारणा छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.