Nidan Media

गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा आक्रमणकारी घाइते

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-१ चकरी मकरी क्षेत्रमा प्रहरी टोलीमाथि साङ्घातिक आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।

बुधबार राति करिब ९ बजे गस्तीमा रहेको प्रहरी टोलीमाथि स्थानीय शनिश तितुङले आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको हो।

गस्तीका क्रममा भएको सामान्य विवादमा तितुङले अचानक बियरको बोतल र बन्चरो प्रहार गरी प्रहरीमाथि हमला गरेका थिए। आक्रमणबाट असई दिलबहादुर तामाङको हातमा बन्चरो लागेर गम्भीर चोट लागेको छ।

आफ्नै टोलीमाथि साङ्घातिक हमला भएपछि असई तामाङले प्रतिकार स्वरूप एक राउन्ड गोली चलाएका थिए। गोली तितुङको कोखामा लागेको छ।

दुवै घाइतेलाई तत्काल एम्बुलेन्समार्फत हेटौँडाको चुरे हिल अस्पताल ल्याइएको थियो। गोली लागेका तितुङको अवस्थालाई ध्यानमा राख्दै उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज (भरतपुर) पठाइएको छ। घाइते असई तामाङको भने चुरे हिल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहितको सुरक्षा टोली अस्पताल पुगेर घाइते प्रहरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्यामबहादुर खत्रीले ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिलाई कानुन बमोजिम कडा कारबाही गरिने बताएका छन्।

प्रहरीले घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान शुरू गरेको जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.